असोज ०६, २०८१, आइतबार
               

चार हजार ४६ विदेशी स्वदेश फिर्ता

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् ।

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेका हुन् । अध्यागमन विभागका अनुसार चैत १४ देखि २९ गतेसम्म विभिन्न ११ देशले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फिर्ता लगेका हुन् ।

अध्यागमन विभाग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले लकडाउनको अवधिमा विभिन्न मुलुकले आफ्ना चार हजार बढी नागरिक उद्धार गरी घर फिर्ता लगेको जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी जर्मन सरकारले एक हजार २०३ जना नागरिक फिर्ता लगेको छ । जर्मनीले चैत १४ गते ३०७, चैत १५ गते ३०५, चैत २२ गते ३०७ र चैत २६ गते २८६ नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।

त्यसैगरी फ्रान्सले चैत १५ गते र चैत २२ गते दुई उडानमार्फत ६०८  नागरिकलाई नेपालबाट फिर्ता लगेको छ । अमेरिकाले पनि चैत १८ र चैत २३ गते दुईवटा उडानमार्फत नेपालमा रोकिएका आफ्ना ६०५ नागरिकको उद्धार गरेको छ । बेलायतले चैत २६ र २८ गते दुई उडानमार्फत ५०० नागरिक लगेको छ ।

अष्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी २५७ नागरिक स्वदेश लगेको छ । नेपाल एयरलाइन्सको चैत १९ गतेको चार्टर उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् । जापानले पनि नेपाल एयरलाइन्सकै वाइड बडी जहाज चार्टर्ड गरी चैत २८ गते १९३ नागरिक स्वदेश लगेको छ । क्यानाडाले कतार एयरवेजको चैत २९ गते जहाजमार्फत २०७ नागरिक लगेको छ । त्यस्तै चैत २२ गते मलेसियाले ६६ र चेक रिपब्लिकनले १०२ नागरिक घर फर्काएका छन् भने चैत २० गते नेदरल्याण्डले १२४ नागरिक स्वदेश फर्काएको छ ।

नेपाल पर्यटन बोर्डले सरोकार निकायसँगको समन्वयमा उनीहरूलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् । लुक्ला, चितवन, पोखरा, मुस्ताङलगायत गन्तब्यबाट पर्यटकलाई काठमाडौँमा जम्मा गरी उनीहरूको मुलुक फर्काइएको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले नेपालका विभिन्न गन्तब्यमा रोकिएका पर्यटकको उद्धार गरी काठमाडौँसम्म ल्याएर उनीहरूको मुलुक फर्काउन सहजीकरण गरिरहेको बताए । उनले नेपालमा अझै कति पर्यटक छन् भन्नेबारे अध्ययन भइरहेको जानकारी दिए । बोर्डले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरबारे ‘अनलाइन सर्भे’को काम पनि सुरु गरिएको जनाइएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । नेपालमा हलसम्म नौ जनामा कोभिड–१९को सङ्क्रमण देखिए पनि एकजना उपचारपछि घर फर्किसकेका छन् । कोभिड–१९को सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । विभिन्न चरणमा गरेर वैशाख ३ गतेसम्म लकडाउनको अवधि थपिएको छ । गत चैत १० देखि १८ गतेसम्म मुलुकभित्र प्रवेश गर्ने सबै अन्तरराष्ट्रिय उडान बन्द गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि