असोज ०६, २०८१, आइतबार
               

सुदूरपश्चिममा एक हजार ४८३ को स्वाब सङ्कलन

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

सुदूरपश्चिम प्रदेशका  ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । 

सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार डोटीमा ३३०, कैलालीमा ३७१, कञ्चनपुरमा १५८, डडेल्धुरामा १९९, बैतडीमा ४२५, अछाममा २२६ जना गरी कुल ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । यहाँका अन्य तीन जिल्ला बझाङ, दार्चुला र बाजुरामा भने स्वाब सङ्कलन गर्न बाँकी रहेको बताइएको छ । 

त्यसैगरी डोटीका क्वारेन्टाइनमा रहेका २१३ जनामा गरिएको कोभिड–१९ र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) जाँचमा सबैको नेगेटिभ आएको छ । क्वारेन्टाइनमा रहेका स्वाब सङ्कलनमा नसमेटिएका १९१ पुरुष र २२  महिला गरी २१३ मा रगतबाट गरिने आरडिटी जाँचमा सबैमा ‘नन रिएक्टिभ’ नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । जिल्लाको आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा गरी चार वटा गाउँपालिकामा आरडिटी गरिएको हो ।

तीमध्ये आदर्श गाउँपालिकामा २३ पुरुष र दुई महिला गरी २५ जना, बडिकेदार गाउँपालिकामा ६२ पुरुष र एक महिला गरी ६३ जना, सायल गाउँपालिकामा २० पुरुष र पाँच महिला गरी २५ जना र बोगटान फुड्सिल गाउँपालिकामा ८६ पुरुष र १४ गरी १०० जनाको रगत जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै आजदेखि होम क्वारेन्टाइनमा बसेकाहरुको समेत आरडिटी परीक्षण सुरु गरिने स्वास्थ्य कार्यालयका प्रमुख मलासीले जानकारी दिए ।  यसका लागि जिल्लाका नौवटै स्थानीय तहसँग तथ्याङ्क माग्ने काम भइरहेको पनि उनले जानकारी दिए । सुदूरपश्चिमकै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गरिएको कोरोना जाँचको र्‍यापिड टेष्टमा २३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक प्रयोगशाला धनगढीसहित टोलीले र्‍यापिड टेष्ट किटमार्फत उक्त टेष्ट गरेको थियो ।

 कैलालीमा १७९ जना र कञ्चनपुरमा ५९ जनाको क्वारेन्टाइन स्थलमै र्‍यापिड टेष्ट गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । र्‍यापिड टेष्ट किटमा पोजेटिभ देखिएकालाई मात्रै रियल टाइम पिसिआर मेसिनमा कन्फर्म गरेर मात्रै नतिजा सार्वजनिक गरिने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुर, प्रादेशिक प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र नेपाली सेनाको टोलीले तीव्र रुपमा कोरोना जाँच गरिरहेकाले सबैको जिल्लाअनुसारको तथ्याङ्क आइनसकेको बताइएको छ । “स्वाब सङ्कलन गरिएकाहरुको एकीकृत तथ्याङ्क आउन केही समय लाग्छ”, उनले भने, “स्वास्थ्यका सबै निकाय फिल्डमा खटिएका छन्, तथ्याङ्क आउन समय लाग्छ ।”


कस्तो लाग्यो ?

यो पनि