असोज ०६, २०८१, आइतबार
               

मोरङमा २७ कैदीबन्दी रिहा

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ । 

कैदीबन्दीलाई साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजर तथा मास्कको पर्र्याप्त व्यवस्था गरेको कारागार प्रमुख सुभाषकुमार लामिछानेले जानकारी दिए । 

कैदीबन्दीमा ज्वरो आउँदा स्वास्थ्य जाँच गर्नुका साथै समय–समयमा नियमित स्वास्थ्य जाँच गर्ने गरिएको र स्वास्थ्य सुविधाअन्तर्गत आवश्यक औषधि नियमितरूपमा उपलब्ध गराइएको कारागार प्रशासनले जनाएको छ । 

कैदीबन्दीले पाउने सिदाबापत रकम नियमितरूपमा प्राप्त गर्नुका साथै स्वच्छ हरियो तरकारीका लागि ग्रामीण क्षेत्रबाट नियमितरूपमा आपूर्ति भइरहेकाले कुनै पनि खाद्य सामग्रीको अभाव कैदीबन्दीले व्यहोर्नु नपरेको प्रमुख लामिछानेले जानकारी दिए ।

५० महिलासहित ३०० कैदीबन्दी क्षमता रहेको कारागारमा अहिले पाँच बालबालिका, ९० महिला र ७९४ पुरुषले कैद सजाय भुक्तान गरिरहेको र अहिलेको अवस्थालाई ध्यानमा राखेर कैदीबन्दीलाई भेट्न आउने मानिसलाई पनि व्यवस्थित गरिएको उनले बताए ।
  
सर्वोच्च अदालतको फौजदारी कार्यविधिसंहिता दफा १५५ प्रावधानअन्तर्गत गत चैत १२ गतेको बैठकबाट निर्णय गरेअनुसार एक महिलासहित २७ कैदीबन्दीलाई रिहा गरिएको उनले बताए । 

रिहा भएका कैदीबन्दी बहुविवाह, सवारी ज्यान, लागुऔषध, वन पैदावर, जबर्जस्ती करणी र सरकारी छाप कीर्ते मुद्दामा सजाय भुक्तान गरिरहेका थिए ।


कस्तो लाग्यो ?

यो पनि