असोज ०६, २०८१, आइतबार
               

७७ जिल्लामा  सिसिएमसी

नेपाल फ्ल्यास
चैत २६, २०७६

प्रतिकात्मक
ADVERTISEMENT

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरेको छ ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरि नै कोभिड–१० को रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरिएको जानकारी गराए । यसअघि केन्द्रीयस्तरमा कोभिड–१९ सिसिएमसी स्थापना गरिएको थियो । 

उनले केन्द्रीय सिसिएमीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्णरुपमा तयार भएको जानकारी दिए । त्यहाँ अहिले सयभन्दा बढी श्यया र ६ वटा सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखिएको छ ।  

यसैगरी उनले आठ जना सङ्क्रमित सबैका आफन्त, परिवार र साथीभाइ सबैको निगरानी (कन्ट्याक ट्रेसिङ) सकिसकेको जानकारी दिए । उनका अनुसार आजसम्म दुई हजार ३६६ नमूना परीक्षण गरिएको छ तर नयाँ सङ्क्रमित भेटिएको छैन । 

आजै १८० नमूना परीक्षण सङ्कलन गरिएको र ती सङ्कलितको नमूना परीक्षण भइरहेको छ । उनले मङ्गलबारदेखि र्‍यापिड टेस्टमार्फत कैलाली र कञ्चनपुरमा नमूना परीक्षण भइरहेको बताए । ती ठाउँमा १८० जनाको नमूना परीक्षण भइरहेको छ । यसैगरी अछाम, जुम्ला र सुर्खेतमा ८०२ जनाको स्वाब नमूना सङ्कलन गरेर काठमाडौं ल्याइएको छ भने दिपायलमा आज ३ सय जनाको स्वाब सङ्कलन गरिने छ ।

उनका अनुसार अहिले मुलुकभरि १३४ जना आइसोलेशनमा रहेका छन् । आठ हजार ५८० जना क्वारेन्टाइनमा रहेका छन् । कल सेन्टरमा तीन हजार ३०६ जनाको गुनासा सम्बोधन भएका छन् । मन्त्रालयको वेबसाइट र मोबाइल एपबाट ८२९ जनाले कोभिड–१९ को स्वपरीक्षण (सेल्फ इभ्यालुशन) गरेका छन् । तीमध्ये तीनजना रेड जोनमा परेका उनले जानकारी दिए ।

मन्त्रालयले नमूना सङ्कलनको दायरा बढाउनका लागि धनगढी, नेपालगञ्ज र पोखरामा ठूलो पिसिआर मेशिन पठाएको उनले बताए । यसैगरी मन्त्रालयले क्वारेन्टाइन निर्देशिका, सङ्क्रमण निदानका निम्ति कार्यविधिसमेत तयार पारेको छ ।


कस्तो लाग्यो ?

यो पनि