असोज ०६, २०८१, आइतबार
               

'भ्रष्टाचारविरुद्ध निर्मततापूर्वक कारबाही'

रासस
चैत २५, २०७६

ADVERTISEMENT

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका छन् ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरेका हुन् । 

उनले चर्को गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

निर्ममतापूर्वक कारवाही

भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने बताउँदै उनले कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि नपर्ने दृढता व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीले भने, 'समाजमा उठ्ने गरेका, खासगरी ‘मिडिया’ र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ ।

मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी सङ्कटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।'

राष्ट्रिय एकता, राष्ट्रिय शक्ति

सरकार र जनताबीचको, राजनीतिक दलहरुबीचको, राज्य र समाजका सबै अङ्गहरुबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त भएको भन्दै प्रधानमन्त्रीले संसद्को साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई आफूले राष्ट्रिय शक्तिको रुपमा लिएको बताए ।

उनले आगामी दिनमा पनि त्यस्तो समझदारी र एकता निरन्तर रहनेमा आफू विश्वस्त रहेको बताए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि