असोज ०६, २०८१, आइतबार
               

म्याग्दीमा सडकमै लगाइयो ताल्चा

रासस
चैत २५, २०७६

ADVERTISEMENT

म्याग्दी । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयवासीले भोटेताल्चा लगाएका छन् । 

कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयवासीले आवतजावतमा रोक लगाएका हुन् ।

आपत्कालीनबाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका–६ दरबाङका वडाध्यक्ष सन्तनाथ सुवेदीले बताए । 

लुकीछिपी आवतजावत बढेपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरबाङबजार नजिकै छ्यारछ्यारेमा फलामेबार राखेर ताल्चा लगाइएको उनले जानकारी दिए । 

पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकासँगै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट आवतजावत नरोकिएपछि आसन्न खतराबाट बच्न सडकमै ताल्चा लगाएर बन्द गर्नुपरेको अध्यक्ष सुवेदीले बताए ।

मालिकासँगै बागलुङको तमान, लाम्मेला र रुकुमबाट समेत मान्छेहरु आउन थालेकाले बाध्य भएर सडकमा कडाइ गर्नुपरेको दरबाङका समाजसेवी गोपाल रेग्मीले बताए । 

बेनी–दरबाङ सडकमा तगारो लगाइएसँगै युवाहरुले नियमित गस्तीसमेत गरिने रेग्मीले जानकारी दिए ।

वडाध्यक्ष सुवेदीका अनुसार एक गाउँबाट अर्को गाउँ जावतजावतमा थप कडाइ गर्ने गरी प्रहरीसहित छ युवा खटाइएको छ । 

छिमेकी जिल्लाका कारण दरबाङसमेत जोखिममा परेपछि स्थानीयवासीले बिरामी र अत्यावश्यक परेकालाई सहज हुने गरी वडाध्यक्ष सुवेदी, इलाका प्रहरी कार्यालय र  लायन्स क्लब अफ दरबाङका पूर्वअध्यक्ष हीरा पुनलाई साँचो दिइएको छ । 

सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेशमा रोक लगाउने निर्णयसँगै म्याग्दीका स्थानीय तहले समेत कडाइ गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि