असोज ०६, २०८१, आइतबार
               

एक हजार दुई सय जनालाई राहत वितरण

नेपाल फ्ल्यास
चैत २४, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ ले स्वयम्भू तथा त्यस आसपास क्षेत्रका एक हजार दुई सय विपन्न परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने नागरिक लकडाउनका कारण काम नभएर भोकै बस्न बाध्य भएपछि उनीहरूलाई खाद्य सामग्री वडाद्वारा प्रदान गरिएको हो ।  

यही चैत २० गतेदेखि राहत वितरण सुरु गरेको उक्त वडाले स्थानीय किमडोल, मञ्जुश्री मार्ग, ठाडो भर्‍याङ, वनस्थली मार्ग, चःमतीलगायत स्थानका गरीब परिवारलाई चामल, पीठो, चिउरा, तेल, नुनलगायत सामग्री प्रदान गरेको छ । वडाध्यक्ष ईश्वरमान डङ्गोलले कोभिड–१९ का लागि स्वास्थ्य र राहत सामग्रीका लागि आठ लाख निकासा गरिएको जानकारी दिए । 

उनका अनुसार यही चैत १७ गते महानगरपालिकाको बैठकले राहत वितरण गर्ने निर्णय गरेको जनाइएको छ । त्यसपछि नियम बनाएर वडाध्यक्षको संयोजकत्वमा राहत वितरण समिति गठन गरी स्थानीय टोल सुधार समितिसँग सहकार्य र समन्वयमा राहत वितरण गरिएको हो । प्रत्येक वडामा राहत वितरणका लागि समिति गठन गरिएको भए पनि केही विपन्न परिवारबाट वितरण प्रणाली पारदर्शी नभएको गुनासो आएको छ । 

अझै ३५० परिवारलाई राहत उपलब्ध गराउन बाँकी रहेकाले उनीहरुलाई मङ्गलबार वितरण गरिने स्वयम्भूस्थित आनन्दनगर टोल सुधार समितिका उपाध्यक्ष सोनाम लामाले जानकारी दिए। चार जनाको परिवारलाई १२ किलो, पाँचजनाभन्दा बढी परिवार भएकालाई १६ किलो खाद्य सामग्री उपलब्ध गराइएको छ ।


कस्तो लाग्यो ?

यो पनि