असोज ०६, २०८१, आइतबार
               

कोरोनाविरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक : मन्त्री ढकाल

नेपाल फ्ल्यास
चैत २४, २०७६

ADVERTISEMENT

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसविरुद्धको अभियानमा निजी क्षेत्रबाट सहयोग पाइरहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार नर्भिक इन्टरनेसनल अस्पताल तथा बसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताए । 'कोरोना महामारीविरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ', उनले भने, 'हामी सबै यस अभियानमा जुट्नुपर्छ ।' रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।

'हामीले आजदेखि कोरोनाविरुद्धको अभियानको दायरा फराकिलो बनाएका छौँ', मन्त्री ढकालले भने, 'उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राखी उपचार प्रक्रिया अघि बढाएका छौँ ।' कैलालीमा विदेशमा नगएको व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाइ थियो ।

सो अवसरमा नर्भिक अस्पताल तथा बसन्त चौधरी फाउन्डेसनका प्रतिनिधिले मन्त्री ढाकाललाई ६० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । फाउन्डेसनले थ्री एमएन ९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो ।

नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने जानकारी फाउन्डेसनले मन्त्री ढकाललाई जानकारी गराएको थियो । फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ ।

सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै ५० लाख उपलब्ध गराइसकेको छ ।

कोरोना संक्रमणले मुलुक अप्ठेरोमा पर्दा ठुला घरानाबाट खासै साथ सहयोग नपाइरहँदा बसन्त चौधरी स्वामित्वको अस्पतालले मुलुकलाई खुलेर सहयोग गरेको छ । यो सहयोगबाट अरु घरानालाई पनि मुलुक र मुलुकवासीले साथ सहयोग पुर्‍याउन प्रेरणा मिल्न सक्छ ।

 


कस्तो लाग्यो ?

यो पनि