जेठ ०६, २०८१, आइतबार
               

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि थपिने
सावधान नभए महामारी फैलिने विज्ञको चेतावनी

ADVERTISEMENT

काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन कम्तीमा एक साता थप लम्ब्याउने तयारी गरेको छ ।

चैत ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । पहिलो चरणको लकडाउन चैत्र १८ मा सकिएपछि २५ गते मध्यरातिसम्म बढाइएको लकडाउन मङ्गलवार सकिँदै छ । त्यसअघि नै यसबारे सोमबार अपराह्नको मन्त्रिपरिषद् बैठकले निर्णय लिने प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पछिल्लो साता कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना सङ्क्रमण देखिएपछि एक लकडाउन अवधि थपिन लागिएको हो । यसअघि विदेशबाट आएकाहरूलाई मात्र कोरोना सङ्क्रमण देखिएकोमा पछिल्लो साता उनीहरूबाट नेपालमै भएकालाई समेत सरेपछि कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेपछि लकडाउनलाई कडाइका साथ पालना गर्ने निर्णय गरेको सरकारले थप एक साता थप्ने जनाइएको छ । अब एक साता थप गरिँदा वैशाख १ गतेसम्म हुनेछ ।

नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ । पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीय महिलामा कोरोना सङ्क्रमण देखिएको हो । ४१ र २१ वर्षका पुरुषहरू भारतबाट आएका थिए  भने ३४ वर्षीय महिला कैलालीस्थित घरमै थिइन् ।

कोरोना सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेपछि लकडाउन अवधि थप गर्न लागिएको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका एक सदस्यले जानकारी दिए । ‘कोरोना भाइरसको सङ्क्रमण दोस्रो चरणमा प्रवेश हुनु गम्भीर विषय हो, फैलिन नदिने एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले लकडाउनको अवधि थप्ने बारेमा सुझाव दिएका छौंं,’ ती सदस्यले नेपाल फ्ल्याससँग भने, ‘अर्को साताबाट भने सङ्क्रमणको अवस्था हेरेर प्रदेशलाई मात्र पनि लकडाउन गर्न पनि सकिन्छ ।’

विदेशमा समेत कम्तीमा २१ दिनसम्म लकडाउन गरिएका अभ्यास छन् । नेपालमा पनि स्वास्थ्य विज्ञहरूले लकडाउन कम्तीमा एक हप्ता बढाउन सरकारलाई सुझाव दिएका छन् ।  कोभिड– १९ रोकथाम तथा नियन्त्रण समितिले समेत लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको छ ।  भारत सरकारले लगाएको २१ दिनको लकडाउन बुधवार सकिनेछ । त्यसैलाई पुनर्विचार गरेर नेपालले पनि आवश्यक निर्णय गर्ने बताइएको छ ।

कोरोना सङ्क्रमण दोस्रो चरणमा पुगेको सुदूरपश्चिममा अझै फैलिएमा अर्को सातापछि सो प्रदेशलाई मात्रै लकडाउन गर्न सकिने जनाइएको छ । लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन समेत थप काम गरिने जनाइएको छ ।

विज्ञको चेतावनी : लकडाउन नबढाए महामारी फैलन्छ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार ‘लोकल ट्रान्समिसन’लाई कोरोना सङ्क्रमणको दोस्रो चरण झनै खतरनाक हुने भएकाले सामाजिक दुरी कायम गर्नुको विकल्प रहँदैन । यदि त्यसो नगरिए तेस्रो चरण ‘कम्युनिटी ट्रान्समिसन’ महामारी पूर्वको अवस्था आउनसक्ने खतरा  रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. यादव देवकोटाको भनाइ छ । उनले भने, ‘सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो नेपालमा । त्यसैले हामी दोस्रो चरणमा प्रवेश गरेका छौँ । यो लोकल ट्रान्समिसन फैलन नदिन पनि झनै सतर्कतापूर्वक सामाजिक दुरी कायम गर्नुपर्ने छ ।’

डा. देवकोटाले नेपालमा कोरोना सङ्क्रमण फैलिने थप जोखिम बढेपछि क्वारेन्टाइनमा बस्ने अवधि बढाउनुपर्ने देखिएको बताए । ‘अहिले १४ दिन क्रस गर्दा पनि पुनः परीक्षण गर्दा केहीलाई पोजेटिभ देखिएको छ । त्यसैले क्वारेन्टाइनको अवधि बढाउनुपर्छ ।’

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि