असोज ०६, २०८१, आइतबार
               

स्वास्थ्य हकको सुनिश्चित गर्न आयोगको आग्रह

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

राष्ट्रिय मानव अधिकार आयोगले  कोरोना भाइरसलगायत सबै गम्भीर प्रकृतिका बिरामीको समेत स्वास्थ्योपचारको व्यवस्था मिलाई हरेक व्यक्तिको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेका प्रेस विज्ञप्तिमा हरेक व्यक्तिको आकस्मिकलगायत सबै प्रकारका स्वास्थ्य सेवा लिन पाउने अधिकार सुनिश्चित गर्न सरकार, स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य संस्थाहरूलाई विशेष आग्रह गरिएको छ ।

सबै स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको सुनिश्चितता, एम्बुलेन्स चालकलगायत सुरक्षाकर्मीलाई आवश्यकताअनुरुप व्यक्ति सुरक्षा कवचको उपलब्धता र उनीहरूबाट हुने नियमित सेवा प्रवाहमा आयोगले विश्वस्त हुन चाहेको जनाएको छ । विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम, नोवेल अस्पतालमा समयमै उपचार हुन नसकी एक महिलाको मृत्यु हुन गएको, काठमाडौँ उपत्यकास्थित समिट, सिभिल, नर्भिकलगायत अस्पतालले बहिरङ्ग सेवा बन्द गरी बिरामीलाई फर्काएको, बिरामीले एम्बुलेन्स सेवा प्राप्त गर्न नसकेको तथा कतिपय घरधनीले वा स्वास्थ्यकर्मीलाई घरमा बस्न नदिएको जस्ता समाचारहरूप्रति पनि आयोगको विज्ञप्तिमा उल्लेख छ ।

मिर्गौला, क्यान्सर, क्षयरोग, एड्स, मधुमेह, उच्च रक्तचाप, मानसिक रोगजस्ता रोगहरूबाट पीडितहरूको उपचार तथा औषधिको अपर्याप्तताका कारण बिरामीमा समस्या उत्पन्न हुन थालेको आयोगमा प्राप्त उजुरी तथा अनुगमनबाट पाइएको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि