विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा अदालतको आदेशानुसार देशभरका विभिन्न बालसुधार गृहमा रहेका बालबालिका धमाधम छुट्न थालेका छन् ।
कोभिड–१९ को सङ्क्रमण बन्दीगृहमा नहोस् भनेर क्षेत्रमा नहोस् भनेर क्षमताभन्दा बढी बालबन्दी रहेको अवस्थामा कम सजाय बाँकी भएका र साना घटनामा रहेका बालबन्दीलाई छोड्ने सर्वोच्च अदालतको आदेशपछि विभिन्न जिल्लामा रहेका बालसुधार गृहबाट धमाधम बालबन्दी छुट्न थालेका हुन् ।
भक्तपुरको सानोठिमीमा नेपाल सरकारको सहयोगमा गैरसरकारी संस्था युसेप नेपालद्वारा सञ्चालनमा रहेका चारवटा बालसुधार गृहबाट अदालतको आदेशपछि एक सातायता १२५ जना बालबालिका छुटेका छन् । यसमध्ये भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट मात्रै ५४ जना बालबालिका छुटेका छन् ।
कूल ११० जनाको क्षमता रहेको यो बालसुधार गृहमा २६४ जना बालबालिका राखिएकामा अदालतको आदेशपछि ५४ जना बालबालिका छुटेको बालसुधार गृहका उपनिर्देशक केशव सुवालले जानकारी दिए । सानोठिमीस्थित बालसुधार गृहमा अझै कैद भुक्तान एवं थुनुवा गरी २१० जना बालबालिका रहेको उनले जानकारी दिए ।
बाग्मती प्रदेशका १३ जिल्लाका बालबालिका राख्ने भनिए पनि हाल यहाँ ४४ जिल्लासम्मका बालबालिका रहेका छन् । बसाइँसराइका कारण उपत्यकामा विभिन्न जिल्लाबाट आउने बढी भएको र उपत्यकामै अपराध भए पनि बाहिर जिल्लाका बालबालिकाको संलग्न बढी रहेकाले बाग्मती प्रदेशभन्दा बाहिर जिल्लाका बालबालिका पनि यही सुधार गृहमा राख्न थालिएको हो । बालसुधार गृहमा सिन्धुपाल्चोक, रामेछाप, रसुवा, नुवाकोट, काभ्रेका बालबालिका बढी रहेका उपनिर्देशक सुवालले बताए ।
बाल सुधारगृहमा रहेकामध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दामा संलग्न रहेका, केही देहव्यापार मुद्दामा र केही कर्तव्य ज्यान, पाकेटमारा, लागुऔषध ओसारपसार, चोरी डकैटीमा संलग्न रहेको मुद्दामा आरोपित रहेका छन् । यहाँ कम्तीमा १२ वर्ष उमेरसम्मका बालबालिका रहेका थिए ।
त्यसैगरी युसेपअन्तर्गत रहेका कास्की, नेपालगञ्ज र विराटनगरमा रहेका बालसुधार गृहबाट पनि अदालतको आदेशअनुसार बालबालिका छाडिएको छ । यसमा कास्कीबाट १५ जना, विराटनगरबाट २१ जना र बाँकेबाट ३५ जना छुटेको उनले जानकारी दिए । उपनिर्देशक सुवालका अनुसार कास्कीमा ५० जनाको क्षमता रहे पनि अझै ६६ जना, विराटनगरमा ५० जनाको क्षमता रहे पनि अझै १४४ जना र बाँकेमा ५० जनाको क्षमता रहे पनि अझै १०७ जना बालबालिका रहेका छन् । छुटेका बालबालिकालाई आवश्यक परेको र खोजेका बेलामा हाजिर गराउने गरी हाललाई परिवारको जिम्मा लगाएर पठाइएको छ ।
सानोथिमि बालसुधार गृहमा शिक्षाको राम्रो व्यवस्था रहेको र एसइई परीक्षा दिएकाका लागि पुस्तकालयको समेत व्यवस्था गरेको छ । कक्षा १२ सम्म अध्ययन गर्नका लागि कक्षाकोठा भवन निर्माण भइरहेको छ । कक्षा ५ देखि १० सम्मका बालबालिकाका लागि सुधार गृहभित्रै विद्यालय सञ्चालनमा रहेको बालसुधार गृह सानोठिमीका कार्यक्रम अधिकृत एवं बालअधिकार संयोजक सन्तुलन देशेमरुले जानकारी दिए ।
यस वर्षदेखि कक्षा १२ सम्मको सम्बन्धन लिइसकेकाले सुधार गृहभित्र रहेका बालबालिकालाई अब कक्षा १२ सम्म नै यही पठनपाठनको व्यवस्था गरिने भएको छ । यसका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको छ । क्षमताभन्दा दोब्बरभन्दा बढी बालबालिका राख्दा मेस, सुत्ने कोठामा समस्या भने रहेको छ । सुत्ने ठाउँको अभावलाई झेल्दै अहिलेसम्म व्यवस्थापन गर्दै आए पनि सरकारले आवास भवनको क्षमता भने वृद्धि गर्नुपर्ने आवश्कता रहेको देशेमरुले बताए ।
सुधार गृहभित्र बालबालिकाले पाउनुपर्ने अन्य सुविधा सहज रुपमा व्यवस्था गरिएको जानकारी दिँदै कार्यक्रम अधिकृत देशेमरुले पठनपाठन, पुस्तकालय, मनोपरामर्श कक्षा, खेलकूद, स्वास्थ्य उपचारलगायतको सेवा रहेको बताए । कोरोनाको सङ्क्रमण हुन नदिन बारिहको भेटघाटलाई रोकिएको छ ।
त्यसैगरी महान्यायाधिवक्ताको कार्यालयका अनुसार महान्यायाधिवक्ताको कार्यालयका अनुसार अन्य बालसुधार गृहमध्ये रूपन्देहीबाट १८, डोटीबाट १७, पर्साबाट १२ र मकवानपुरबाट पाँच जना बालबालिकालाई पनि अभिभावकको जिम्मा लगाएर छाडिएको छ ।