असोज ०६, २०८१, आइतबार
               

‘क्वारेन्टाइन’ मा बस्दै वृद्धाश्रमका ज्येष्ठ नागरिक

रासस
चैत १९, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि क्वारेन्टाइनमा बसिरहेका छन् । सरकारले गरेको आह्वानसँगै अहिले कर्मचारी र ज्येष्ठ नागरिक सबै वृद्धाश्रमभित्रै बसिरहेका हुन् ।

‘कोभिड–१९’ को जोखिम वर्गका रुपमा ज्येष्ठ नागरिक हुने भएकाले बाहिरी भेटघाट रोकिएको र उनीहरूलाई घरभित्रै दूरी कायम गरी बस्न भनिएको कार्यालयले जनाएको छ । कर्मचारी दैनिक घर जाने र आउने गर्दा यहाँ भित्रका ज्येष्ठ नागरिकमा पनि रोग फैलन सक्ने भन्दै कार्यरत धेरै कर्मचारी यहीँ बस्न थालिएको प्रमुख देवी चालिसेले बताए । चैत महिनाको सुरुदेखि नै नेपाली र विदेशी आगन्तुक दुवैलाई भित्र आउन नदिइएको उनले बताए । उनले भने, 'उनीहरू भित्र नै सुरक्षित बसिरहेका छन, बाहिरी भेटघाट गरेका छैनन्।'

वृद्धाश्रमभित्र पहिलेदेखि सामाजिक दूरीमा खाटहरू रहेका छन् । जाडो भएकाले अघिल्लो महिनासम्म घाम ताप्न परिसरमा निस्कने भए पनि अहिले ज्येष्ठ नागरिक घरभित्रै बस्ने गरेका छन् । कुनै काम परेर बाहिर निस्कँदा पनि सकेसम्म दूरीमै रहन भनिएको प्रमुख चालिसेले बताए। उनले भने, 'उनीहरू पनि सजग भएर मानिरहेका छन्।'

अहिलेसम्म कसैमा पनि रोगको सङ्क्रमण नदेखिए पनि कुनै लक्षण देखिएमा छुट्टै राख्नका लागि तीन वटा बेड रहेको उनले बताए । यहाँ रहेका ज्येष्ठ नागरिकलाई कार्यालयले हात धुनका लागि साबुनपानी, ह्याण्ड वास, सेनेटाइजर, मास्कलगायतका सामग्री उपलब्ध गराएको छ । उनीहरूलाई कोभिड–१९ भनेको के हो र कसरी यसबाट बच्न सकिन्छ भनी सजग गराइएको कार्यालयले जनाएको छ । सुरुमा यसबारे जानकारी दिँदा ‘हामी मर्ने उमेरका मान्छेलाई के चिन्ता’ भन्ने गर्नुभएको उनले बताए । अहिले बुबाआमा आफैँ दैनिक रेडियो सुन्ने र टेलिभिजन हेरेर रोगबारे धेरै कुरा बुझ्न थाल्नुभएको छ । उनले भने, 'उनीहरू बुझेरै यसो गर्नुपर्छ त्यसो गर्नु हुँदैन भन्ने भएका छन्।'

यो वृद्धाश्रम नेपाल सरकारद्धारा सञ्चालित देशको एक मात्रै वृद्धाश्रम हो । यहाँ २५ जना कर्मचारी कार्यरत रहेकामा हाल १७ जना यहीँ बस्दै आएका छन् । पहिले यहाँ कार्यरत अधिकांश कर्मचारी राति घर गएर बिहान आउने गरेको प्रमुख चालिसेले बताए । सामान्य अवस्थामा रातको समयमा नर्स, सुरक्षाकर्मी र सुसारे एकएक जना मात्रै रातमा बस्ने गर्दथे । कर्मचारी बाहिर–भित्र गर्दा रोगको सङ्क्रमण पनि सँगै आउनसक्छ भनी उनीहरू पनि यहीँ बस्ने गरेका छन् । यहाँ दैनिक आवश्यक कर्मचारी मात्रै यहाँ बस्ने गरेका हुन् । उनले भने, 'त्योभन्दा बढी मानिस बस्नका लागि यहाँ स्थान पनि पुग्दैन ।'

कुनै पनि काम परेर कर्मचारी घर बाहिर जाँदा पनि आवश्यक सावधानी अपनाउने र आएपछि पनि सरसफाइपछि मात्रै भित्र प्रवेश गरिरहेको उनले बताए । दैनिक आउने तरकारी, दूधलगायतका खाद्यन्नलाई पनि सुरक्षित गरेर मात्रै भित्र प्रवेश गराइन्छ । बृद्धाश्रममा अहिलेसम्म आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव नभएको प्रमुख चालिसेले बताए । आवश्यक पर्दा मन्त्रालयसँगको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको हो ।

आम नागरिकललाई रासनमा समस्या आइरहँदा पनि बृद्धाश्रम भित्र भने यस्तो समस्या छैन । सरकारी खरिद नियमानुसार एक वर्षका लागि खरिद गर्ने गरी सम्झौता भएकाले त्यसको समस्या नआएको हो । आपूर्ति कर्ताले यहाँ आवश्यक खाद्यन्न आपूर्ति गरिरहेको प्रमुख चालिसेले बताए । वृद्धाश्रमले सरकारले तोकेका खानेकुरा आपूर्तिकर्ताले ल्याउने गरेका हुन् । सरकारले नतोके पनि ज्येष्ठ नागरिकले चियासँग बिस्कुट खाने गरेका थिए । अहिले बाहिरबाट आगन्तुक नआउँदा बिस्कुट आउन छाडेको छ । अहिलेसम्म पहिलेको स्टक बाँकी भए पनि अब त्यो सकिन लागेको छ । उनले भने, 'तत्काल दाताबाट नआउने भएकाले त्यसबारे हामी मन्त्रालयसँग कुराकानी गर्नेछौँ ।'

वृद्धाश्रममा रहेको स्वास्थ्य विभागले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै आएको छ । त्यसबाहेकका उपचारका लागि उनीहरुलाई सम्बन्धित अस्पतालमा लगिन्छ । कोभिड–१९ को सङ्क्रमण कुनै व्यक्तिमा देखिएमा तत्काल तोकिएको अस्पताल लगिने उनले बताए । यहाँ रहेको सवारीसाधन तयारी अवस्थामा राखिएको छ ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि