जेठ ०६, २०८१, आइतबार
               

लकडाउनको असर : मर्कामा मजदुर वर्ग

ADVERTISEMENT

काठमाडौँ । क्यानडाले कोरोना भाइरसका कारण आम्दानी गुमेका प्रत्येक नागरिकलाई साताको पाँच सय अमेरिकी डलर दिइरहेको छ । भारतको केन्द्रीय सरकारले सङ्कटको यो घडीमा गरिब, कामदार र सुकुम्वासी जनताको सुरक्षाका लागि भनेर १७ खर्व भारतीय रुपैयाँ बराबरको राहत योजना सार्वजनिक गरेको छ ।

भारतमै दिल्ली सरकारले सुकुम्वासी र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरलाई निःशुल्क खाना खुवाइरहेको छ । यसबाट सुकुम्वासी र मजदूरले खानाको चिन्ता गर्नुपरेको छैन । उनीहरूलाई भात र दाल सरकारले खुवाइरहेको छ । 

नेपालमा पनि ‘लकडाउन’का कारण खान धौधौ परेका दैनिक ज्याला मजदुरी गर्ने वर्गले राहतको आशा गरेका थिए । तर त्यसो नभएपछि लकडाउनको एक साता पुग्दा पनि उनीहरू भोकभोकै बस्नुपर्ने अवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक भन्ने गरेका छन्– ‘कोही भोकै बस्नुपर्दैन । कामै नगरी खान्छु भन्नेका लागि सरकारले पेटभरि खुवाउँछ ।’ नेपालमा कोही पनि गरिब, मजदूरले भोकै बस्नु नपर्ने प्रधानमन्त्रीको भनाइले अहिले गरिब मजदुरलाई गिज्याइरहेको छ ।

तीनकुनेस्थित बाग्मती नदी किनारामा सुकुम्वासी बस्तीमा बस्नेहरूको दिनचर्या फेरिएको छ । दैनिक ज्याला मजदुरीमा व्यस्त रहने उनीहरू यतिबेला टहरामै दिन कटाइरहेका छन् । उनीहरूले ‘लकडाउन’मा काम गर्न जान पाइँदैन भन्ने मात्र बुझेका छन् । उनीहरू काममा नगएको एक साता भएको छ । काममा नगएपछि उनीहरूको आम्दानीको बाटो बन्द भएको छ । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूलाई यतिबेला बिहान–बेलुकाको छाक टार्न धौधौ परेको छ । 

‘लकडान’पछि उनीहरू काममा जान सकेका छैनन् । कोरोना सङ्क्रमण र लकडाउन गरिएको उनीहरूलाई थाहा छ । कहिलेकाहीँ प्रहरी गाडीमा माइकिङ गर्दै आएको सुनेका पनि छन् । बाराका जयदेव यादव भन्छन् ‘दिनभरि मजदुरी गरेर खान्छौँ । अहिले काम गर्न पाइँदैन । सबैतिर बन्द छ । केही रहेको अलिकति दाल, चामल पनि सकियो । अब के खाने भन्ने पिर छ ।’ गरिब, मजदुरको लागि सरकारले खाद्यान्न उपलब्ध गराउने भनिए पनि साबुन बाहेक केही नपाएको उनको गुनासो छ । 

काठमाडौंमा तीनकुने मात्र होइन, अधिकांश नदी किनारामा सुकुम्वासी बस्ती छ । लकडाउनयता उनीहरूको घरमा चुल्हो बल्न धौधौ छ। लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गर्ने उनीहरू बढी प्रभावित भएका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको लकडाउन एक साता पुग्दा उनीहरू भोकभोकै बस्नुपर्ने अवस्था छ । तीनै तहको सरकार मिलेर तत्काल राहत वितरण गर्न उनीहरूले माग गरेका छन् । 


सरकारले घोषणा गरेको वा अरू कुनै पनि राहत नपाउँदा दैनिक मजदुरी गरेर गुजारा चलाउने परिवार भोको पेट बस्न बाध्य छन् । आर्थिक अभावका कारण कतिपय गरिब मजदुरले साबुन, मास्क, सेनिटाइजरसमेत किन्न सकेका छैनन् । ‘कि त हामीलाई काममा जान दिनुपर्‍यो कि खानाको व्यवस्था हुनुपर्‍यो,’ उनीहरू आक्रोश पोख्छन् ‘हाम्रा बालबच्चा भोकभोकै मर्नुपर्ने अवस्था नआओस् ।’

संसारका सबै मुलुकजस्तै नेपाल पनि अहिले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा छ । यो लडाइँमा सबैभन्दा जोखिममा रहेको गरिब र कामदार वर्ग छन् । कोरोनाको त्रासमा अहिले सबैभन्दा पीडित बनेको तर कसैले पनि वास्ता नगरेको यही कामदार वर्ग बनेको छ । काठमाडौंजस्ता ठुला सहर र भारतका विभिन्न ठाउँमा काम गर्न गएका धेरै मजदुर अहिले गाउँ गाउँमा फर्केका छन् । उनीहरू चैत–वैशाखमा गाउँमा लाग्ने अनिकालबाट बच्न काम खोज्दै देशभित्रका ठुला सहर र भारतका विभिन्न बजार छिरेका थिए । तर, अचानक आएको यो महामारीले उनीहरूलाई पुनः गाउँ नै फर्काएको छ । कतिपय बाटोमा अलपत्र छन् ।


 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि