बैशाख २६, २०८१, बुधबार
               

घरघरमा गएर फोहोर संकलन व्यवस्था मिलाउन निर्देशन

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले स्थानीय तहहरुलाई घरघरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय तहहरुलाई यस्तो निर्देशन दिएका हुन् । 

‘कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्न लकडाउनमा बस्नुपरेको यो अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले आजै (शनिबार)देखि घरघरमा फोहोर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाहरूलाई निर्देशनात्मक अनुरोध छ ।’

साथै, उपत्यकाको फोहोर उत्सर्जन गरिने स्थान सिसडोलमा फैलने दुर्गन्ध रोकथाम र किटाणु नासका लागि आवश्यक औषधिको व्यवस्थापन गर्ने काम तत्काल सुरु गर्न उपत्यकाका नगरपालिकालाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा संक्रमणको जोखिम न्यूनीकरणका लागि बिहान ८ बजेभित्र फोहोर विसर्जनको  व्यवस्था मिलाउन उपत्यकाका नगरपालिकाहरूसँग मन्त्रालयले आवश्यक पहल गरिएको पनि बताइएको छ । 

मन्त्री मानन्धरले फोहोर संकलनमा खटिने संकलक, सवारीचालक तथा अन्य कर्मचारीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थापन मिलाउने कामको सुरुवात भएको बताएका छन् । 

मान्त्री मानन्धरले नगरवासीलाई व्यवस्थित रूपमा फालिने फोहोरका कारण सहरी क्षेत्रमा हुन सक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै संकलक नआउँदासम्म घरमै कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै रूपमा व्यवस्थित तरिकाले राख्न आग्रह गरेका छन् । 

मन्त्री मानन्धरले घरबाहिर फोहोर फाल्नेलाई कारबाही गरिने तयारी भएको बताएका छन्  । 
 

यो पनि