असोज ०६, २०८१, आइतबार
               

स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
चैत १५, २०७६

सांकेतिक
ADVERTISEMENT

लकडाउन जारी भएको चौथो दिन शुक्रबारसम्म स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन र होम क्वारेन्टाइनमा ३६६ जना बसेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

स्याङ्जामा होम क्वारेन्टाईनमा ३४०, विभिन्न स्थानीय पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा २५ र सेल्फ क्वारेन्टाइनमा एक कूल ३६६ जना क्वारेन्टाइनमा बसेका प्रनाउ भण्डारीले बताए ।

जिल्लाका स्थानीय तह, प्रहरी प्रशासनलगायतको सहयोगमा विदेशबाट आउनेहरुको खोजी कार्यलाई तीव्र पारिएसँगै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या दिनहुँ थपिँदै गएको प्रनाउ भण्डारीले बताए- “लकडाउनको पालना गरी आफू र परिवारलाई सुरक्षित राख्न सचेतनास्वरुप माईकिङसमेत गरिएको छ”, प्रनाउ भण्डारीले भने, “लकडाउनका बेला अत्यावश्यक कामबाहेक सडकमा सवारी साधन नचलाउन र घरबाहिर पैदलसमेत ननिस्कन आग्रह गरेका छौंँ ।

 यसैबीच स्याङ्जाबाट परीक्षणका लागि पठाइएको स्वाबको दुई नमूना कोरोना नभएको पुष्टि भएको छ । कतार एयरमा फर्किएकामध्ये स्याङ्जाको फेदीखोलाका एक युवकसहित उनकी पत्नीको स्वाब परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइएकामा कोरोना नभएको पुष्टि भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

“कतार एयरमा आएका युवाको श्रीमतीलाई समेत ज्वरो आएपछि दुवैको स्वाब परीक्षणका लागि पठाइएकोमा दुवैको रिपोर्ट नेगेटिभ आएको छ”, प्रजिअ कुरुम्बाङले भने । कतार एयरमा आएकी १९ वर्षीया युवतीमा कोरोना सङ्क्रमण प्रमाणित भएसँगै उक्त जहाजमा यात्रामा रहेका छ जना सम्पर्कमा आई क्वारेन्टाइनमा बसेका उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि