असोज ०६, २०८१, आइतबार
               

आफ्नै गाउँ फर्कि आएँ...

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

जाजरकोट । कोरोना भाइरसको जोखिमका कारण जारी लकडाउनका समयमा विभिन्न सहरबाट गाउँ जानेको सङ्ख्या बढिरहेको छ । 

अहिले अधिकांश मानिस गाउँ नै ताकिरहेका छन् । 

भेरी नगरपालिका–३ का खड्क थापा लकडाउनको समय शुरु हुनेबित्तिकै हतार–हतार परिवारसहित गाउँको घर पुगे ।

नलगाड नगरपालिका–४ निवासी थापा लामो समयपछि घरका आफन्तसँग भेटघाट पनि भएको बताउँछन् । 

सदरमुकाममा व्यापार गर्दै आएका थापालाई लकडाउनले नै घरका आफन्त भेट्ने समय जुराएको छ । 

उनीजस्तै विगत चार वर्षदेखि वीरेन्द्रनगर सुर्खेत बस्दै आएका जुनिचाँदे गाउँपालिका–६ का प्रभात खड्का परिवारसहित गाउँ पुगेका छन् । 

उनले पाँच जनाको परिवार लिएर १२ चैतमा उनी गाउँ पुगेको बताउँदै भने, “वीरेन्द्रनगरमा हो–हल्ला र धेरै जनसम्पर्क हुने भएकाले एकान्तका लागि गाउँ आएको हुँ, यहाँ आएदेखि कसैसँग पनि भेट भएको छैन, फोनमा हालखबर बुझ्नेसम्मका काम भएका छन् ।” 

नलगाड बहुमुखी क्याम्पस नलगाड नगरपालिका दल्लीका प्रमुख कालीबहादुर पुन क्याम्पस बन्द भएपछि घर मात्र बसेका छैनन् । 

उनले घरका सबै परिवार जम्म गरेर ८५ रोपनीमा लगाएको प्याजखेती गोडमेलमा लागेको तस्वीर सामाजिक सञ्जालमा सार्वजानिक गरेका छन् । 

उनले लेखेका छन्, “अग्र्यानिक खेतीको गोडमेलसँगै सबै परिवारसँग भेटघाट भएको छ, एकापसमा आपसी सम्बन्ध प्रगाढ हुनुका साथै माया, ममता थपिएको छ ।” 

सदरमुकाम र मुख्य शहरमा सुरक्षा निकायको बाक्लो उपस्थिति मात्र देखिन्छ भने सर्वसाधारण गाउँमा पुगेको जनाउ दिइरहेका छन् । 

गाउँमा भारतबाट कमाई गरी फर्केकाको निगरानी तथा सूचना दिने काम व्यापक भएको छ । 

बाख्रा, भैँसी, गाई, गोरुलगायतका पशुचौपायसमेतलाई घरमै घाँस खुवाएर र केहीले जङ्गलमा लिएर आहारा उपलब्ध गराएको जानकारी आइरहेका छन् । 

स्थानीय सरकारले वडा तहमै कोरोना जोखिमबाट जोगिनका लागि समिति गठनपछि निगरानीसमेत व्यापक बनाएको छ ।
 
शुक्रबार मात्र जाजरकोटमा अलपत्र परेका डोल्पाका १४० भन्दा बढी सर्वसाधारणलाई सुरक्षित तरिकाले डोल्पा पठाएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । 

उनका अनुसार ७० भन्दा बढी जाजरकोट आएर होम क्वारेन्टाइनमा राखिएको छ । 

डोल्पाबाट पढ्न गएका र अन्य कामका लागि जिल्ला बाहिर बस्दै आएका सयौँ मानिस घर पुगेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि