लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारवाही सुरु गरेको छ ।
पक्राउमा पर्नेहरूले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिजार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरूले प्रतिकिलो ४५ मा पाइने आलु प्याज ८० मा, प्रति रु एक हजार ३५० मा पाइने खाना पकाउने ग्यास एक हजार ७०० मा र ५० को रिचार्ज कार्ड ६० मा बिक्री गरिरहेको समयमा जनकपुरका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।
विगत केही दिनदेखि जनकपुरधाममा हरियो तरकारीको पनि मूल्यमा अप्रत्याशितरूपमा वृद्धि भएको छ । काउली प्रतिकिलो ५०, हरियो खुर्सानी प्रतिकिलो २४० र सोही अनुपातमा अन्य तरकारीको पनि मूल्यमा वृद्धि भएको उपभोक्ता पशुपतिनाथ झाले जानकारी दिए ।