बैशाख २४, २०८१, सोमबार
               

लकडाउनमा लापरबाही : उल्लंघनकर्ता सम्हाल्न प्रहरीलाई सकस
सरकारले कडाइ नगरेको कि छाडा छोडेको ?

ADVERTISEMENT

तस्बिरमा देखिएको दृश्य काठमाडौँको मुख्य लाइफलाइन नागढुङगा नाकाको हो ।

समय– बुधवार दिउँसो १ बजे ।

एम्बुलेन्स, फोहोर बोक्ने गाडी, पानी बोक्ने ट्ंयाकर आदि काठमाडौँ भित्रिरहेका थिए । उनीहरूको गाडी नम्बरको रेकर्ड राखेर प्रहरीले गन्तव्य काठमाडौँतर्फ छिराउँथे । साथै पैदलयात्री, मोटरसाइकल चालक र अन्य गाडीहरू फाट्टफुट्ट रुपमा आवत–जावत गरिरहेका देखिन्थे । उनीहरूलाई भने सुरक्षाकर्मीले रोक्दै फर्कारहेका थिए ।

उनीहरूलाई प्रहरीले रोकेर सोधपुछ गर्थे । कतिपयले अस्पतालको कार्ड देखाउँथे । कसैले एक्सरे रिर्पोट देखाउँथे । कतिपय हस्याङ फस्याङ गर्दै आफ्ना समस्या बताउँथे । सीमित सङ्ख्यामा रहेका प्रहरीलाई पैदलयात्री, मोटरसाइकल चालकलाई मान्छे सम्हाल्न हम्मेहम्मे परिरहेको देखिन्थ्यो । उनीहरू रोकेर सोधपुछ गरिरहेका र यसरी हिँडडुल नगर्न आग्रह गरिरहेका थिए ।

अवज्ञाकारी नियत : सके सुरक्षाकर्मीलाई छल्ने, नसके फर्कने 

छेवैमा चन्द्रागिरि नगरपालिकाले राखेको हेल्थ डेस्क थियो । त्यहाँ केही सवास्थकर्मी थिए । सवारी साधनमा बसेर काठमाडौँ भित्रिएका तथा पैदलयात्रीहरुलाई उनीहरूले टेम्प्रेचरगनले तापक्रम नाप्थे । कोरोना भाइरसबाट बच्ने उपायसमेत उनीहरूले सिकाइरहेका थिए ।

धेरैजसो पैदलयात्री प्रहरी भएको बाटो छलेर दौडन्थे । मोटरसाइकलनजिकै आइपुगेपछि प्रहरीले रोक्थे । केही चालक इमानदार भएर आफ्नो सवारी रोक्थे । प्रहरीले उनीहरूलाई हिँडडुल नगर्न आग्रह गरिरहेका थिए । केही भने आफ्नो सवारी रोक्न लागेजस्तो गर्दै नरोकी भाग्थे । लकडाउन उल्लङ्घन गर्दै हिँडेका नागरिकलाई सम्हाल्न थोरै सङ्ख्याका सुरक्षाकर्मीलाई सकस देखिन्थ्यो ।

कतिपय मानिसलाई जरुरी परेर सडकमा निस्कनुपर्ने बाध्यताले नागढुंगा चोकमा सर्वसाधारणको गतिविधि पूर्णरुपमा रोकिएको देखिएन । यद्यपि, सुरक्षाकर्मीले यात्रुलाई नरम व्यवहार गरेर सम्झाइबुझाइ गरिरहेका देखिन्थे ।

अत्यावश्यक कामका लागि मानिसहरू बाहिर निस्किए पनि कतिपयचाँहि विनाकामनै निस्किएका भेटिए ।

किन बाहिर निस्किएको ?

‘घर,कोठामा बस्दा बस्दा दिक्क लागेर बाहिरको स्थिति बुझ्न हिँडेको’ एक जना अर्धबैसे पुरुषको जवाफ आयो ।

सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ, थाहा छैन ?

फेरि यो पंतिकारले प्रश्न गर्‍यो ।

‘भीडमा नगई एकछिन निस्किँदैमा कोरोना सोरोना केही लाग्दैन । यसो बाहिर टहलिन आएको,’ उनी केही तर्क वा बहाना बनाएर पन्छिए ।

सरकारले कडाइ नगरेको हो कि छाडा छोडेको ?

विश्वभर सङ्कट निम्त्याएको कोरोना भाइरस नेपालमा पनि देखिएपछि समुदायमा फैलिन नपाओस् भनेर सरकारले घरमा सुरक्षित रूपमा बस्न आग्रह गरेको थियो । तर अधिका‌ंशले यसलाई सकारात्मक लिँदै नियम पालना गरिहरेका छन् । तर केहीले भने आफ्नो स्वास्थ्य सुरक्षाको विषयलाई हल्का रूपमा लिएको देखियो ।

उनीहरूले तत्कालीन परिस्थिति नबुझेको कि अटेर गरेको ?  सरकारले कडाइ नगरेको हो कि ? छाडा छोडिदिएको ?

यो प्रश्न हामीले महानगरीय प्रहरी प्रभाग नागढुंगाका इन्चार्ज हेमन्त थापालाई सोध्यौँ ।

‘कोरोना सङ्क्रमणले विश्वलाई नै हल्लाइरहेको छ । नेपालमा समेत सङ्क्रमित भेटिएका छन्, यसलाई नियन्त्रण गर्ने भनेकै नागरिकको चेतना र सावधानीले हो, सरकारले चाहेर डन्डा लगाएर मात्र नियन्त्रण सम्भव हुँदैन,’ इन्चार्ज थापाले भने ।

नागरिकले लकडाउनको अर्थ अझै गम्भीर रूपमा नलिएको हो, त ? दोस्रो प्रश्नमा उनले भने, ‘अहिले अत्यावश्यक सेवाका साधन मात्र चलिरहेका छन्, अधिकांश मानिस सचेत छन् । घर भित्रै छन् । दुईचार जना विना काममा हिँडेका भेटिन्छन् । उनीहरूलाई सम्झाएर फकाइरहेका छौँ, सरकारले डन्डा लगाएर घरमा राख्ने होइन, जनताले विवेक प्रयोग गरेर घरमै बस्ने हो ।’

लकडाउन पालनामा डन्डा नै लगाउनुपर्ने हो ?

प्रहरीले सिआरभी भ्यानमा कोरोना सङ्क्रमणबाट बच्ने उपायसमेत माइकिङ गरिरहेको थियो । ‘भिडभाड नगर्ने, हात नमिलाउने, घर बाहिर ननिस्कने,’ यस्तै यस्तै सूचना सुनिन्थ्यो । तर सरकारको आग्रहलाई बेवास्ता गर्ने नागरिकलाई प्रहरीले सम्झाएर घर फर्काउनुपर्ने अवस्था सिर्जना हुनु केहीको अटेरीपन भएको चन्द्रागिरिवासी देवेन्द्र प्रधान बताउँछन् । राप्रपाका नेता तथा यातायात विज्ञसमेत रहेका प्रधान भन्छन्– ‘आफ्नै स्वास्थ्यका लागि हो अर्काले किन सम्झाउनुपर्ने ? हामी किन गम्भीर हुन सकिरहेका छैनौँ, यो सोचनीय र सबै नागरिकको समीक्षाको विषय हो ।’

कोरोना मानिसबाट मानिसमा र हावाबाट समेत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने अध्ययनले देखाइसकेको छ । तर नागरिकले पूर्ण रूपमा लकडाउनको पालना नगर्दा कोरोना सङ्क्रमणले भयावहकै अवस्था आउन सक्ने चन्द्रागिरि नगरपालिकाबाट हेल्थ डेक्समा खटिएका एक चिकित्सकले बताए । थर्मलगनले यो पंत्तिकारको तापक्रम नाप्दै उनले भने ‘सरकारको लागि घरभित्र बसिदिने होइन, आफ्नै लागि बसौँ, एक जना बाहिर ननिस्कनु भनेको आफू मात्रै नभई परिवार र समाजलाई सुरक्षित बनाउनु हो ।’

नेपालमा कोरोनाका सङ्क्रमित तीन जना भेटिइसकेका छन् । त्यसमध्ये एक जना उपचारपछि ठीक भएका छन् । घर बाहिर ननिस्कन सरकारले गरेको आह्वान आम जनताकै स्वास्थ्यका लागि हो । आम नागरिकले आफैँ नै घर बाहिर नजाने र आफूलाई जोखिममा नपार्नका लागि सोच्नुपर्ने हो । तर काठमाडौँको मुख्य प्रवेशद्वार हेर्ने हो भने लकडाउनको समयमा सडक पूर्णरुपमा चकमन्न हुने लक्षण खासै नदेखिएको पत्रकार रोशन दानीले बताए ।

भित्री सडकमा बढी अटेरी

हामी करिब एक घण्टा नागढुंङ्गा नाकाको गतिविधि हेरेपछि भित्री सडक छिर्यौँ । जुन दहचोक जाने बाटो थियो । बाहिर सडक सुनसान रहे पनि अत्यावश्यक सामानहरू आवश्यक पर्ने भित्री गल्लीका किराना पसलहरू फाट्टफुट्ट खुलेका भेटिए । यसबाट दैनिक उपभोग्य सामान किनमेलमा आत्तिनुपर्ने अवस्था देखिएन ।

सरकारले अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्किइ घरैमा बसेर कोरोनाविरुद्धको लडाइँमा सहयोग गरिदिन आमजनतामा आग्रह गरेको छ । अत्यावश्यक सामग्री किन्न बाहिर निस्कँदा मास्क प्रयोग गरेका देखिए । घरबाहिर निस्कँदा र भित्र प्रवेश गर्दा अनिवार्य साबुन पानीले हात धुने गरेको खाद्य सामग्री किन्न आउनेहरूको भनाइ थियो । 

हामी पुन: फर्कन लाग्ने क्रममा अघिकै नागढुंगा नाकामै आइपुग्यौँ । नाकाको आवतजावत अवस्थाको विषयमा अवलोकन गर्न महानगरीय प्रहरी परिसका प्रवक्ता डिएसपी होबिन्द्र बोगटी आएका रहेछन् । उनीसँग हामीले त्यहाँ देखिएका दृश्यका विषयमा जिज्ञासा राख्यौँ ।

लकडाउनलाई जबरजस्ती नजरबन्दी जीवनको रूपमा नबुझेर आफ्नो सुरक्षाको लागि हो भन्ने बुझ्नुपर्ने डिएसपी बोगटीले बताए । ‘यो आम नागरिककै लागि हो, धेरै सचेत छन्, कतिपयले हल्काफुल्का रूपमा लिएको छन्, उनीहरूलाई सम्झाइरहेका छौँ,’ बोगटीले भने ‘सबै ठाउँका भित्री क्षेत्रमा पनि थप निगरानी बढाएका छौँ, सबैले पालना गरिदिनुहुन्छ भन्ने अपेक्षा छ ।’


 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि