जेठ ०६, २०८१, आइतबार
               

कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका १२५ जनाको पहिचान, सपरिवार क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
चैत ११, २०७६

फाइल फोटो
ADVERTISEMENT

काठमाडौँ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना भाइरस सङ्क्रमित १९ वर्सिया युवतीसँगै विमानमा यात्रा गरेका १ सय २५ जना यात्रुको पहिचान भएको छ ।

१ सय २५ जना र सबैजसोको परिवारका सदस्यहरू अहिले होम क्वारेन्टाइनमा रहेको प्रहरीले जनाएको छ । साथै ती सबैले भेटघाट गरेका व्यक्तिहरूको समेत खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले नेपाल फ्ल्यासलाई जानकारी दिए ।

चैत ४ गते कतार एयरवेजको विमानबाट नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उनीसँगै काठमाडौँ उत्रिएकाहरूको पहिचान गरिएपछि उनीहरूको परिवारसम्म प्रहरी पुगेको हो ।

ती युवतीसँगै आएका अन्यको विवरण प्रहरीले अध्यागमनसँग मगाएको थियो । सोही अनुसार अध्यागमनले सबैको नामावली पठाएको थियो । त्यो आधारमा प्रहरीले सबैसँग सम्पर्क गरेको हो । केही व्यक्ति तथा परिवारको भने प्रहरीले अझै खोजी गरिरहेको प्रहरी प्रवक्ता थापा क्षेत्रीले बताए ।

‘चैत ४ गते कतार एयरवेजको विमानमार्फत कोरोना सङ्क्रमित युवती आएको पुष्टि भएको छ । उनीबाट अरुमा समेत सङ्क्रण भएको हुनसक्ने भएकोले उनिहरूसहित परिवारका सबै सदस्यलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । सेल्फ क्वारेन्टाइनमा बसे/नबसेको अनुगमन प्रहरी र स्थानीय प्रशासनले गरिरहेको छ,’ प्रवक्ता थापा क्षेत्रीले भने ।

क्वारेन्टाइनमा राख्नुभन्दा पहिला उनीहरू सबैको स्वास्थ्य जाँच गरिएको छ । रिर्पाेट भने आउन बाँकी छ । चैत ४ गते काठमाडौँ उत्रिएकी ती युवतीलाई कोरोना सङ्क्रमण भएको पुष्टि चैत ९ गते भएको थियो । त्यसपछि सक्रियता देखाएको देशैभर लकडाउनसमेत गरिएको छ । हालको लागि सरकारले एक साता मुलुकभर लकडाउन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि