मंसिर ०७, २०८१, शुक्रबार
               

महानगरपालिकामै ‘स्यानिटाइजर’ बनाइने

रासस
चैत ०७, २०७६

ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नै कार्यालयमा स्यानिटाइजर  निर्माण गर्ने भएको छ । स्यानिटाइजर बनाउँदा प्रयोग गरिने रसायनको जोखिमलाई ध्यानमा राखी महानगरपालिकाले आफैँ बनाउने निर्णय गरी काम अघि बढाउन लागेको हो । 

स्यानिटाइजर बनाउन प्रयोग गरिने डिस्टिलेसन सेट, अल्कोहल मिटर, फ्याक्सन डिस्टिलेशन सेट  र चिनी कम्पनीबाट उत्पादित स्प्रीटको प्रयोग गरी महानगपालिकाले आफ्नै कार्यालयमा स्यानिटाइजर बनाउन लागेको महानगरपालिका प्रमुखका स्वकीय सचिव राजु महर्जनले जानकारी दिए । उनले भने, ‘महानगरपालिकाको नेतृत्वमा छ दिनको तालिम लिएका ६० जना व्यक्तिले आआफ्नो घरमा स्यानिटाइजर बनाउन पाउने छैनन् । रसायनसँग खेल्नुपर्ने भएकाले यसको जोखिमलाई ख्याल गरी हामीले यो निर्णय गरेका हौँ ।’ 

कार्यालयमा स्यानिटाइजर बनाउने नेतृत्व रसायनशास्त्रमा स्नातकोत्तर नारायणराज महर्जनले गर्ने बताइएको छ । स्यानिटाइजर बनाउँदा प्रयोग हुने हाइड्रोजन पेरोअक्साइडले छालामा छुँदा असर पर्छ ।  महानगरपालिकाले स्यानिटाइजर उत्पादन गर्न थालेपछि यदि बोलाएका खण्डमा नमुना परीक्षण गर्न जाने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नाष्ट०का वरिष्ठ वैज्ञानिक सजनलाल स्याउलाले जानकारी दिए । 

‘विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको मात्रामा रसायनको प्रयोग गरेर स्यानिटाइजर बनाउँदा कसैले पनि डराउनुपर्ने अवस्था रहेको छैन’, नाष्टका प्रवक्ता सुरेशकुमार  ढुङ्गेलले भने, ‘नेपालमा रहेका केही सङ्घसंस्था, काठमाडौँ उपत्यकाभित्र र बाहिर केही नगरपालिकाले पनि स्यानिटाइजर बनाउने जानकारी प्रवाह गर्न अनुरोध गरिरहेका छन् ।’ साबुनपानीको पहुँच तथा व्यवस्था नभएका स्थानमा स्यानिटाइजर निकै उपयोगी  हुने ढुङ्गेलले जानकारी दिए ।

महानगरपालिका विपत् व्यवस्थापन महाशाखाले गत फागुन २६ देखि २९ गतेसम्म हरेक वडाका दुई महिलालाई मास्क बनाउने तालिम पनि दिइसकेको छ । ती महिलाले हाल हरेक वडामा मास्क बनाउँदै महानगरपालिका कार्यालयमा दिने गरेका छन् । महानगरले ती महिलालाई प्रत्येक मास्क बनाएको ज्याला रु पाँच दिई रु ७ मा बिक्रीवितरण गर्ने गरेको महर्जनले बताए । 

महानगरपालिकाले सेवा लिन आएका व्यक्तिलाई हातमा स्यानिटाइजर लगाउन दिने, थर्मोमिटर गनको प्रयोग गरी ज्वरो नाप्ने, ज्वरो आएका हकमा आराम र सजगता अपनाउन लगाउने, कोभिड–१९ का बारेमा लेखिएको पर्चा वितरण गर्ने र एफएम रेडियोमा जनचेतना फैलाउन थालिसकेको छ ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि