जेठ ०९, २०८१, बुधबार
               

चार नाकामा हेल्थ डेस्क राखिने

रासस
चैत ०६, २०७६

ADVERTISEMENT

बाजुरा । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट जोगिन सतर्कता साथै जिल्लामा आवतजावत गर्ने सर्वसाधारणको जाँचका लागि चार स्थानमा हेल्थ डेस्क स्थापना गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

बुधबार प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । जिल्ला दैवी प्रकोप तथा उद्धार समितिको सर्वपक्षीय बैठकले नौ निर्णयसहित जिल्लामा आउने चार नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।

हेल्थ डेस्क पूर्वी–उत्तरी भेगको कोल्टी विमानस्थल कोल्टी, जगन्नाथ गाउँपालिकाको जुड्डीमा समेत स्थापना गरिने जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिए । उनका अनुसार बाजुरा अछामको सिमाना रहेको बूढीगङ्गा नगरपालिकाको इकडीगाड वा बाम्का बजार र जिल्ला सदरमुकाम मार्तडीको कारागार नजिकै रहेको बसपार्कमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको  बताए ।

यस्तै कोरोना सङ्क्रमणबाट जोगिनका लागि जिल्लाका स्थानीय तह र सबै कार्यालयलाई प्रचारप्रसारमा तीव्रता दिन प्रशासनले आग्रह गरेको छ । जिल्ला अस्पताल बाजुरामा आइसोलेसन स्थापना गरी शङ्कास्पद व्यक्तिलाई उपचार गर्ने गरी श्यया बनाइएको छ ।

कोरोना सङ्क्रमणबाट बच्नका लागि नौ वटै स्थानीय तहले प्रतिकार्य योजना बनाएर चैत मसान्तभित्र जिल्ला दैवी प्रकोप समितिलाई बुझाउनपर्ने भएको छ । सङ्क्रमणको बेला स्वास्थ्यकर्मीलाई आपतकालीन समयबाहेक बिदा नलिन प्रशासनले पत्राचार गरेको सूचना अधिकारी भण्डारीको भनाइ छ ।

कोरोना सङ्क्रमण देखिएमा स्थानीय तहले जिल्ला अस्पताल बाजुरा र स्वास्थ्य कार्यालयमा उद्धार टोली तयार राखिने भएका छन् । हेल्थ डेस्क स्थापना गरिने भए पनि आवश्यक उपकरण अभाव रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले स्वीकार गरेका छन् । 

कोरोना भाइरस सङ्क्रमणका लागि जाँच गर्ने थर्मोमिटरसहित अन्य आवश्यक सामग्री नभएको प्रजिअ न्यौपानेको भनाइ छ । आवश्यक जनशक्ति तयार भए पनि सामग्री नभएपछि हेल्थ डेस्क स्थापना गर्न ढिलाइ हुने सहायक प्रमसुख जिल्ला अधिकारी भण्डारी बताए ।
 
जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना
यहाँस्थित बडीमालिका नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल बाजुराले कोभिड–१९को सङ्क्रमण भएका बिरामीका लागि छुट्टै आइसोलेसन कक्ष स्थापना गरेको अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुरामा दुई श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शङ्कास्पद लक्षण भएका बिरामीका लागि आइसोलेसन कक्ष स्थापना गरिएको हो ।

अस्पतालभित्रै स्थापना गरिएको आइसोलेसन कक्षमा शङ्कास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिँगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए । शङ्कास्पद बिरामी भेटिएमा सोही कक्षमा राखेर उपचार गर्ने गरी अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको हो ।

कोरोनाको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारी स्वरुप आइसोलेसन कक्षको स्थापना गरेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी चूडामणि पन्तले  जानकारी दिए ।

कोरोनाबाट बच्न पूर्वतयारी आवश्यक रहेकाले सोहीअनुसार आइसोलेसन कक्ष स्थापना गरिएको सूचना अधिकारी पन्तको भनाइ छ । यसअघि प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो । प्रदेश सरकारको निर्देशनलगत्तै जिल्ला अस्पतालभित्रै दुई श्ययाको आइसोलेसन कक्ष निर्माण गरेर राखिएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि