जेठ ०८, २०८१, मंगलबार
               

विदेशको सीपले नेपालमा व्यवसाय

रासस
चैत ०६, २०७६

ADVERTISEMENT

चितवन । दश वर्षको अष्ट्रेलिया बसाइपछि स्वदेश फर्किएर एक दम्पतीले त्यहाँ सिकेको सीपलाई उपयोग गर्दै आफ्नै घरमा व्यवसाय सुरु गरेका छन् । भरतपुर महानगरपालिका–१० बाइपास सडकको भरतपुर आँखा अस्पतालको आडैमा उनीहरुले  ग्लोबल कफी हाउस सञ्चालनमा ल्याएका हुन्।

श्रीमान् प्रदीपको सहयोगमा आश्मा तिमिल्सिनाले कफी सप सञ्चालन गरेकी छन् । कफी सपमा ग्राहकलाई अन्तर्राष्ट्रिय स्वादको कफीसँगै सीप सिक्न चाहनेका लागि यो दम्पतीले तालिम पनि दिँदै आएका छन्। सन् २००८ मा अष्ट्रेलियाको मेलबन पुगेको यो दम्पती त्यहाँको पाँच वर्ष बसाइपछि सिड्नी पुग्यो । पढाइ सकेर स्थायी बसोबासका लागि अष्ट्रेलिया सरकारको इजाजत पाउनै लाग्दा सिड्नीको पाँचवर्षे बसाइ सकेर सो जोडी सीपसँगै नेपाल फर्कियो । 

अष्ट्रेलियामै हस्पिटालिटी व्यवस्थापनमा स्नातक गरेकी आश्मा कफी निर्माणमा निकै सिपालु छिन् उनले भने, “सिड्नीमा बस्दै गर्दा यो सीप नेपालमा प्रयोग गर्ने सोच हामीमा आयो र यहाँ फर्कियौँ ।” दश वर्ष बाहिर हुँदा नेपालमा पनि धेरै परिवर्तन भइसकेको छ । यो परिवर्तनसँग जुध्दै स्वादेशमै सङ्घर्ष गर्ने अठोटका साथ आफूहरू फर्किएको आश्माको भनाइ छ । विदेशमा जस्तै यहाँ पनि कफी पिउनेको सङ्ख्या बढेको उनले बताए। आफ्नै घरको पहिलोतलामा १५ लाख हाराहारी खर्च गरी यो दम्पतीले चिटिक्कको कफी सप तयार गरेको छ ।

अष्ट्रेलियामा चलेका कफीका स्वाद मात्र होइन, कफीसँगै अध्ययनका लागि पुस्तक पनि राखिएका छन् । कफी सपमा हटकफी, कोल्ड कफीसँगै कफीबाट बन्ने विभिन्न परिकारसँगै मिल्कसेक पनि उपलव्ध छन् । छिट्टै भारतको १२० वर्ष पुरानो दूधकोला पनि बिक्री गर्ने लक्ष्य उक्त दम्पतीले लिएको छ । विभिन्न लेखकका पुस्तक पढ्दै कफी पारखीहरू कफी सपमा रमाएको देखिन्छ । आश्मा भन्छिन्, “कफी सपलाई बुक क्याफेका रुपमा चिनाउने मेरो रहर छ ।”

प्रदीपका अनुसार कफी सपमा २० दिनको कफी तालिम र १५ दिनको हस्पिटालिटी सम्बन्धी तालिम पनि दिइँदै आएको छ । हालसम्म १७ जनाले कफी बनाउने तालिम र तीनैमध्येका १२ जनाले हस्पिटालिटी तालिम पनि लिएका छन् । हस्पिटालिटी तालिममा वेटर र वेट्रेस तालिम पर्दछन् । तालिम लिने अधिकांश विदेश जाने भएका प्रदीपले जानकारी दिए । तालिम लिन आउनेलाई यो दम्पतीले विदेशको सङ्घर्ष र आवश्यक सीपका बारेमा पनि बुझाउँदै आएको छ । कफीसपमा अन्यत्र नपाइने स्वादका कफीसँगै पेय पदार्थ बिक्री गर्ने सोच दम्पतीसँग छ ।
 
आश्माले भनिन्, “अर्काको देशमा सीप सिक्ने हो, काम आफ्नै देशमा गर्नुपर्छ ।” आठ वर्षकी छोरीलाई शिक्षादिक्षा दिँदै स्वदेशमै व्यवसायमा जम्ने अठोट यो दम्पतीले लिएको छ । आश्माले थप्नुदै भनिन्, “मेहेनत गप्यो भने अष्ट्रेलियाको भन्दा बढी कमाइ हामी यही गर्न सक्छौँ भन्ने हाम्रो अठोट छ ।” भर्खरै व्यवसाय सुरु गरेकाले काम गर्ने सहयोगी छैनन् । गर्नुपर्ने सबै काम दम्पतीले आफैँ गर्छन् । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि