जेठ ०८, २०८१, मंगलबार
               

खाली हुँदै काठमाडौं

रासस
चैत ०६, २०७६

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।  

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको बताउछन् । ‘नयाँ बसपार्कमा अरु दिनभन्दा हिजोआज घर जाने यात्रुको भीड लागेको छ’, उनले भने । 

घर जान बिहीबार बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि यात्रुहरु उपत्यका छोड्ने क्रम बढेको बताउछन् । 

महाशाखाका अनुसार हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै १८ हजार १८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन् ।

त्यस्तै १८ हजार ४४१ सवारी साधन बाहिरिएका छन् । अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरे पनि पछिल्लो समय ९० हजार धेरै मानिस बाहिरिएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला विश्वमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य मास्कको प्रयोग गन आग्रह गरे । ‘हरेक यात्रुले आफ्नो सुरक्षा आफैँ गरे कोरोना भाइरस फैलन पाउँदैन’, उनले भने । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि