बैशाख २३, २०८१, आइतबार
               

बजारमा उपभोग्य वस्तुको अभाव भए म जिम्मा लिन्छु : मन्त्री भट्ट

रासस
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिने प्रतिबद्धता दोहोर्‍याउँदै खाद्यवस्तुको अनावश्यक सञ्चित नगर्न पुनः आग्रह गरेको छ । नेपाल जनप्रसान सङ्घ (पान) ले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजना गरेको ‘कोरोनाको प्रभावः आपूर्ति व्यवस्था’ विषयको कार्यक्रममा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न, औषधिलगायत वस्तुका कुनै पनि अभाव नभएको जानकारी दिए ।

खाद्यान्नलगायत अत्यावश्यकीय वस्तुको कुनै अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै उनले त्यसको सम्पूर्ण जिम्मा आफूले लिने बताए । ग्यासको अनावश्यक सञ्चितले आपूर्ति प्रणालीमा असर गर्ने मात्र नभई गम्भीर प्रकारको दुर्घटनासमेत निम्त्याउन सक्ने तर्फ उपभोक्तालाई सचेत गराउँदै उनले सिलिण्डर थुपार्ने काम नगर्न आह्वान गरेका छन् । 

आपूर्ति व्यवस्थामा कुनै प्रभाव पर्न नदिन आफू सशस्त्र द्धन्दको समयमा झै दिनरात खटिइरहेको उल्लेख गर्दै उनले आपूर्ति व्यवस्थालाई चुस्त बनाउन मन्त्रालयको सिङ्गो टोली इमान्दार भएर लागेको बताए । ‘कसैलाई दोष दिने ठाउँ छैन्’, उनले भने । मन्त्री भट्टले सङ्कटका बेला सबैलाई एकै ठाउँमा गोलबन्द हुन आह्वानसमेत गरेका छन् । ‘सङ्कटका बेला निजी क्षेत्र र जनताले पनि सहयोग गरिदिनुपर्छ’, उनले भने ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त मात्रामा चामल र साल्ट ट्रेडिङसँग पनि पर्याप्त नुन र चिनीको मौज्दात रहेको जानकारी दिँदै आवश्यक परेको खण्डमा जहाँ, जुन जिल्लामा उपभोग्य वस्तुको अभाव हुन्छ त्यहाँ आपूर्ति गरिने जानकारी दिए । 

बुधबार बिहानमात्र आफूले कालीमाटीस्थित तरकारी बजारको अनुगमन गरेको जानकारी दिँदै मन्त्री भट्टले तरकारी तथा फलफूलको आपूर्ति र मूल्यमा कुनै समस्या नरहेको पाएको बताए । ‘मैले त्यहाँ व्यापारीसँग पनि छलफल गरेँ’, उनले भने, ‘व्यापारीले कुनै पनि अभाव नभएको बताए, तरकारी तथा फलफूलको आयात भइरहेको छ ।’ चिनियाँ स्याउ र लसुनमा केही मूल्य बढेको र अन्य वस्तुको मूल्य घट्दो क्रममा रहेको पाइएको उनले जानकारी दिए । 

छलफलमा साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले करिब एक लाख ३९ हजार ८०६ मेट्रिक टन नुनको मौज्दात रहेको जानकारी दिँदै यसले करिब १० महिनाको माग धान्ने बताए ।     वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले आपूर्ति प्रणालीमा कुनै समस्या नभएकाले विश्वस्त हुन उपभोक्तालाई आग्रह गरे । ‘सरकारी कम्पनी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त मात्रामा उपभोग्य वस्तु मौज्दात रहेको छ’ उनले भने ।

बजारलाई अस्तव्यस्त बनाउने र गैरव्यावसायिक अवस्था सिर्जना गर्नेलाई कडाभन्दा कडा कारबाही हुने बताउँदै उनले सरोकारवाला निकायसँगको समन्वयमा बजार अनुगमनलाई तीव्रता दिइएको बताए । नेपाल खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले बजारमा पर्याप्त मात्रामा खाद्यवस्तु रहेको जनाउँदै आत्तिनुपर्ने अवस्था नआएको बताए । ‘बजारमा हल्ला भएजस्तो अभाव छैन, सामान ढुवानीका क्रममा केही समस्या देखिँदा त्यसको प्रभाव परेको हो ।’

औषधि थोक व्यवसायी सङ्घका अध्यक्ष शिव बाँस्कोटाले अहिलेकै अवस्थामा करिब ६ महिनालाई पुग्ने औषधि मौज्दात रहेको भन्दै नआत्तिन आग्रह गरे । सरकारले उपभोग्य वस्तुको कुनै पनि अभाव हुन नदिने प्रतिबद्धता दोहोर्‍याए पनि उपभोक्ता ढुक्क हुन सक्ने अवस्था नआएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकारको पैरवी गर्दै आएको संस्था कञ्जुमर आइ नेपालका महासचिव रञ्जन खनालले बजारमा व्यापक मात्रामा अनियमिता, कालोबजारी र कृत्रिम अभाव भइरहेको भन्दै सरकारको उपस्थिति नदेखिएको बताए । उपभोग्य वस्तुको अभाव हुँदैन भनेर सरकारले उपभोक्तालाई विश्वस्त पार्न नसकेको उनको भनाइ थियो । 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले आपूर्ति तथा उपभोक्ता नीति तत्काल ल्याउन आग्रह गर्दै उपभोक्ता अधिकारसम्बन्धी छलफलका नाममा ‘छल’ गर्ने र ‘फल’ खाने प्रवृत्ति त्याग्न आग्रह गरे । राष्ट्रिय उपभोक्ता मञ्चका सचिव गोविन्द सुवेदीले उपभोक्तामा अनावश्यक सामग्री थुपार्ने, सङ्कटका बेला धेरै मूल्य तिर्न पनि तयार हुने प्रवृत्तिले गर्दा बजार अस्तव्यस्त बनेको बताए ।

सङ्घले आपूर्ति व्यवस्थालाई सहज बनाउन निजी क्षेत्रको सहभागितामा ‘रोडम्याप’ बनाउन सरकारलाई सुझाव दिएको छ । सङ्घका अध्यक्ष कृष्णहरि बाँस्कोटाले उपभोक्ता अधिकारका सम्बन्धमा सम्पूर्ण नागरिकमा जागरण ल्याउनुपर्नेमा जोड दिँदै दण्डहिनताको अवस्था अन्त्य गर्दै कानून कार्यान्वयनमा नियामक निकायले तदारुकता देखाउनुपर्ने बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि