लागु औषध नियन्त्रण ब्युरोले नियन्त्रित लागूऔषध र मनोद्विपक पदार्थसहित १२ जनालाई पक्राउ गरेको छ ।
ब्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारवाहीका क्रममा तीन महिलासहित १२ जनालाई ८ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेटसहित पक्राउ गरेको हो । पछिल्लो १२—१२ दिनमा चलाएको अभियानमा ब्युरोले ठूलो सफलता प्राप्त भएको जनाएको छ ।
नेपालमा लागूऔषध भित्रिने मुख्य नाकाहरू वीरगञ्ज, काँकडभित्ता र सुनौली रहेको प्रहरीले जनाएको छ । मुख्य नाकामध्ये वीरगञ्जमा लागूऔषध नेपाल ओसार पोसार गर्ने भारतको मोतिहारी पूर्वि चम्पारणका २४ वर्षीय विकाश कुमार र सोही ठाउँका २४ वर्षीय विकास कुरमा रामलाई समेत पक्राउ गर्न सफल भएको जनाएको छ । उनीहरूको साथबाट बुप्रेनोर्फिन ४ सय एम्पुल, डाइजेपाम ४ सय एम्पुल र फेनारगन ४ सय एम्बुल समेत बरामद भएको छ । उक्त कारोबारमा संलगन काभ्रे धुलिखेल ६ का उद्दव आचार्य (६०)लाई समेत पक्राउ गरिएको छ । चैत १ गते काठमाडौंको कलंकीबाट पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको ब्युरोका प्रमुख बसन्त बहादुर लामाले बताए ।
चैत १ गते प्ररीले बुप्रेनोर्फिन १ हजार एम्पुल, डाइजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुलसहित पर्साको वीरगञ्ज महानगरपालिका १३ का मैंयादेवी श्रेष्ठ (५२), वडा नम्बर १५ का ज्योती बराल (२४)लाई पक्राउ गरेको थियो । ब्युरोले फागुन २८ गते काठमाडौंको गोकर्णेश्वर ८ बेसीगाउँबाट बुप्रेनोर्फिन ६६० एम्पुल, डाईजेपाम ५९१ एम्पुल, फेनारगन ६१५ एम्पुल, नाईट्राभेट ५४० ट्याब्लेट र लागु औषध कारोबारको रकम १ लाख ९४ हजार ५ सय सहित सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ का राजिव तामाङलाई पक्राउ गरेको छ । उनीसँगै ओखलढुंगा, सिद्धिचरण नगरपालिका ७ का सरोज राई (२१) लाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
यसैगरी फागुन २२ गते बल्खुबाट बुप्रेनोर्फि, डाईपेजाम र फेनारगन ३—३ सय एम्पुलसहित बाराको कलैया ७ बाट पचुदास गिरी (३५) लाई पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले फागुन २० गते नुवाकोट सुर्यगढी नगरपालिका ५ का सरोज पौडेल (२५), सिन्धुपाल्चोक इन्द्रवती ४ का उर्मिला तामाङ (२२), धादिङको निलकण्ठ नगरपालिका १ का राज कुमार गुरुङ (२९) र महोत्तरी मटिहानी नगरपालिका ८ का इमतियाज नदाफलाई बुप्रेनोर्फिन ३९६ एम्पुल, डाइजेपाम २४४ एम्पुल र फेनारगन ४०५ एम्पुलसहित नियन्त्रणमा लिइएको जनाएको छ ।