दैलेख । पछिल्लो समय ग्रामीण भेगबाट ढिकी जाँतो र हातेमुसल लोप हुँदै गएका छन् । गाउँघरमा भित्रिएका टुकटुके मिल र पानीघट्ट निर्माण भएपछि ग्रामीण भेगबाट कुटानीपिसानी गर्ने ढिकी जाँतो लोप हुँदै गएका हुन् ।
ढिकी जाँतो लोप हुँदा बिहान र बेलुकीपख ढिकी जाँतोले गुञ्जायमान हुने गाउँघरका बस्ती आजभोलि सुनसान हुन थालेका छन् । आवाज नसुनिँदा गाउँघरका अन्न उत्पादन हुन छाडेको हो कि भन्नेसमेत भान हुन्छ । गाउँका सबै मानिस तराईको चामलको भरमा परेर परनिर्भर बनेका हुन् कि भनेर आकलन पनि गर्न सकिन्छ ।
मिरमिरेमा भालेको डाकसँगै उठेर कुटानीपिसानी गर्नुपर्ने बाध्यता भोगेका गाउँका महिला आजभोलि गाउँघरमा भित्रिएका पानीमिल र आधुनिक घट्टले गर्दा सुविधा ल्याएको बताउँछन् । ‘पहिला ढिकी जाँतो, हातेमुसलले गर्दा हामीलाई दुःख हुन्थ्यो, आधुनिक घट्ट र टुकटुके मिल आएपछि सुविस्ता भएको छ’, पश्चिम दैलेख ठाटीकाँध गाउँपालिका–१ की नैना शाहीले भनिन्, ‘कुटानीपिसानीबाट बचत भएको समयलाई बालबच्चाको सरसफाइ र तरकारी खेतीमा लगाउने गरेका छौँ ।’
आधुनिक घट्ट र टुकटुके मिलले गाउँमा पाइने जैविक अन्नको स्वाद भने फरक बनाइदिएको सोही ठाउँका ९० वर्षीय भगे कामीले बताए । ‘महिलाका दुःखमा कमी भए पनि खानाको स्वाद नै बिगार्यो, ढिकी र जाँतोमा कुटानीपिसानी गरेका अन्नमा पाइने स्वाद हराउन छाडेको छ’, उनले भने । गाउँमा आउने पर्यटकलाई आधुनिक मिल र पानीघट्टले रिझाउन नसक्ने दुल्लु नगरपालिका–९ धामीगाउँका शेर्वानाथ योगीले बताए । उनका अनुसार घट्ट र मिलसँगै सम्बन्धित निकायले परम्परागत यन्त्रलाई लोप हुन नदिने योजना ल्याउनुपर्छ ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ की मनिषा शाही भने आधुनिक यन्त्रले किशोरी र महिलाका दुःख हटेकाले परिवर्तन भएको बताउँछिन् । । ‘सात–आठ वर्ष पहिला विद्यालय जानुभन्दा पहिला कुटानीपिसानी गर्नुपर्थ्यो, अहिले स्कूल बिदाको दिन पानीघट्टमा गएर धुलो पिसेर ल्याइहाल्छम, उनी भन्छिन् । आधुनिकयन्त्रले गर्दा गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागी हुन पाउँदा केही चेतना जागेको उनले बताइन् ।
ग्रामीण भेगमा घट्टमा पिसानी गरेको शुल्क मानापाथी दिइने चलन छ । तीस केजी गहुँ वा मकै पिसेको तीन माना गहुँ वा मकै तिर्नुपर्छ । मिलमा कुटानीपिसानी गर्दा भने रकम तिर्ने गरिन्छ । महिलालाई केही सुविधा भए पनि आधुनिक मिल वा घट्टमा अहिले पनि महिलाकै उपस्थिती छ । जहाँ जसरी काम भए पनि यस्ता जोखिमयुक्त काममा पुरुषको सहभागिता बढाउनुपर्ने आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराको जोड छ । उनका अनुसार स्वादिलो खानाका लागि हातेमुसल, ढिकी जाँतो लोप हुन दिनुहुँदैन । उनले भनिन्, ‘पछिल्लो समय गाउँबस्तीबाट हातेमुसल, ढिकी जाँतो लोप हुँदै गए पनि यहाँका बासिन्दा संस्कार बचाउन र खानाको स्वाद कायम राख्न पाहुनालाई ढिकी जाँतोमा कुटानीपिसानी गरेको खाना खुवाउने गर्छन् ।’