बैशाख ०७, २०८१, शुक्रबार
               

तनहुँमा फेरि २१ महिनाकी बालिकामाथि चितुवाको आक्रमण

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

दमौली । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् । 

घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरेको सो कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । 

घरमै रहेका बुबाआमाले होहल्ला गरेपछि चितुवा भागेको थियो । 

“छोरीलाई बाहिर राखेर एकैछिन घरभित्र पस्दा चितुवाले आक्रमण गर्न भ्याएको रहेछ”, प्रहरी निरीक्षक रेग्मीले भने, “होहल्लापछि थप घटना हुन पाएन ।”

आक्रमणबाट बालिकाको पेटमा सामान्य चोट लागेको छ । 

उनलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । 

गत फागुन २८ गते मात्रै चितुवाको आक्रमणबाट  बन्दीपुर गाउँपालिका–५ याम्पामा सात वर्षीय अनुप नेपाली घाइते भएका थिए ।

जिल्ला चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन् ।  

भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ । 

२० महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाको आक्रमण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिने प्रयास पनि गरेको छ । 

हालसम्म जिल्लामा सात  चितुवा नियन्त्रणमा लिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि