जेठ ०६, २०८१, आइतबार
               

पोखरामा गीतकार प्रतिष्ठान गठन

रासस
चैत ०३, २०७६

ADVERTISEMENT

कास्की । पोखरामा क्रियाशील  गीतकारहरु सङ्गठित भएका छन् । क्रियाशील गीतकारहरुको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गीतकार प्रतिष्ठान नेपाल गठन गरेका छन् ।

खनिया लमजुङमा जन्मेर दुई दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रूपमा क्रियाशील हुनुहुन्छ । खनियाको ‘दोष’ एल्बमका ‘मैले बा आमा त्यागेर रोजेको मायाले मलाई धोका दिई, सबको पिरतीमा दरबार हुन्छ’ लगायत गीत चर्चित छन् । 

त्यसैगरी समितिको उपाध्यक्षमा शीतल गिरी रहेकी छिन् । उनको ‘मविना कसैकसैलाई मुस्किल छ पोखरामा’ गीत निकै चर्चित छ । महासचिवमा अनुराग अधिकारी चयन भएका छन् । उनको ‘नानीको चञ्चले बानीले बिगा¥यो,’ ‘कहिले फूल बनी फक्रेर फुलूँ भन्छ मन’ लगायत गीत चर्चित छन् ।  

प्रतिष्ठानको कोषाध्यक्षमा बिर्सना बस्नेत, सचिवमा रुपिन्द्र प्रभावी तथा सदस्यहरुमा रेशम रचक, देवी त्रिपाठी, मिर्मिसा पराजुली, जीवन पण्डित, प्रकाश अधिकारी र लाल कार्की ‘अञ्जान’ चयन भएका छन् ।

यसैबीच प्रतिष्ठानको बैठकबाट सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पँगेनी ‘शिव’, डा कृष्णहरि बराल र हरिदेवी कोइरालालाई सल्लाहकारमा चयन गरिएको छ । प्रारम्भिक चरणको भेलामा उपस्थित गीतकारहरुमध्येबाट समिति गठन भएको र आगामी दिनमा पोखरा र पोखराबाहिर क्रियाशील विभिन्न गीतकारहरुलाई संस्थामा समेट्दै अघि बढ्ने योजना रहेको महासचिव अधिकारीले जानकारी दिए । 

विभिन्न विधागत संस्थाहरु स्थापना भइसकेको पोखरामा गीतसम्बन्धी विधागत संस्थाको आवश्यकता बोध भएर यो अभियानमा लागेको अध्यक्ष खनियाले बताए । उनले गीतकारको हकहितका लागि कार्य गर्ने, गीतकारको अस्तित्व र पहिचानको खोजी गर्नेलगायत उद्देश्य रहेको प्रतिष्ठान कुनै संस्थाको शाखा नभई स्वायत्त संस्था हुने बताए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि