मंसिर ०१, २०८१, शनिबार
               

दाङमा बैंकिङ अपराध बढ्न थाले

रासस
फागुन ३०, २०७६

ADVERTISEMENT

दाङमा पछिल्लो समय बैंकिङ अपराधका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बैंकिङ कसुर र कम्पनीसम्बन्धी विवादका मुद्दाको चाप छन् । “विगतमा बैंकिङ कसुरका घटना धेरै थिएनन्”, जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत राजन गौतमले भने, “तर पछिल्ला वर्षमा बढ्दै जान थालेका छन् ।” उनका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को हालसम्म आठ वटा मुद्दा दर्ता भएका छन् ।

मुद्दा दर्ता भएका बैंकिङ अपराधका घटनामध्ये करिब ९० प्रतिशत व्यक्ति पक्राउ परिसकेको उनको भनाइ छ । केही व्यक्ति भने फरार रहेको उनको भनाइ थियो । सहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको वृद्धि भएसँगै यससम्बन्धी मुद्दा पनि बढ्दै जान थालेको उनको भनाइ छ । 

विश्वासका रुपमा लिएको चेकमा समेत बेइमानी बढेका कारण यस्ता घटना बढ्दै जान थालेका गौतमले बताए। उनका अनुसार दाङमा गत आव २०७५/०७६ मा ११ वटा बैंकिङ अपराधका घटनाका मुद्दा दर्ता भएका थिए । 

जुनसुकै तहका मानिस पनि चेक बाउन्सका घटनामा संलग्न भएको उनको भनाइ छ । आर्थिक कारोवार गर्दा सबै सचेत हुने दिन आएको उनको भनाइ छ । प्रहरीले चेक बाउन्सको उजुरी परेपछि दुवै पक्षलाई बोलाएर छलफल गराएर मिल्ने समयसमेत दिँदै आएको प्रहरी निरीक्षक गौतमले बताए ।

पीडित र पीडक पक्ष नमिलेको खण्डमा मात्र प्रहरीले पीडित पक्षको उजुरी लिने गरेको जानकारी दिए  । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि