ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चावहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाषसिंह धामीलाई आज दिउँसो पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका न्यौपानेले बाजुराका कुन्का थापाको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएको अनुसन्धानमा खुलेको छ । धामीले थापालाई ट्रायल पास गरिदिने भन्दै सम्पर्कमा ल्याएर न्यौपानेलाई ट्रायल दिन लगाएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को लिखतसम्बन्धी कसुर अपराधअनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको महाशाखा प्रमुख ढकालले बताए।