गलकोट नगरपालिका–१ दुधिलाभाटी घर भई हाल जापानमा कार्यरत श्याम शर्मा गैरेको उपचारार्थ निलुवा समाज चमुवा जापानले रु आठ लाख ६३ हजार सहयोग प्रदान गरेको छ ।
मुटु र फोक्सोमा गम्भीर समस्या देखिएपछि गैरे जापानको टोकियोस्थित अस्पतालको सघन कक्षमा उपचाररत छन् । समाजका पदाधिकारी र जापानमा रहेका नेपालीहरूबाट सहयोग जुटाई मङ्गलबार गैरेलाई हस्तान्तरण
गरिएको हो ।
अर्थाभावका कारण उपचारमा समस्या आउने देखिएपछि सहयोग सङ्कलन गरिएको समाजका अध्यक्ष थमबहादुर क्षेत्रीले जानकारी दिए । उपचार खर्चिलो हुँदै गएपछि सहयोगको याचना गर्नुपरेको गैरेकी श्रीमती पवित्राले बताइन् ।
जापानमा रहेका नेपालीले ‘श्याम शर्मा गैरे बचाउ’ अभियान नै चलाएर रकम जुटाएका हुन् । गलकोट नगरपालिका–४ देखि अध्ययन र रोजगारीमा जापान पुगेकाहरूले स्थापना गरेको सो समाज सामाजिक सेवाका काममा क्रियाशील छ ।