जेठ ०६, २०८१, आइतबार
               

गृहमन्त्रीका भाइ सुटुक्क डिल्लीबजार जेलमा

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा सुटुक्क  डिल्लीबजारस्थित कारागारमा आत्मसर्मपण गरेका छन् । उच्च अदालत पाटनले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीको खोजी सूचीमा रहेका उनी गत सोमबार नै कारागारमा पुगेका हुन ।  डिल्लीबजार कारागारको ‘क’ ब्लकमा उनी थुनामा रहेका छन् । 

डिल्लीबजार कारागारको ‘क’ ब्लक सुविधाका हिसाबले राम्रो मानिन्छ । प्रहरी निरीक्षक बनाइदिन्छु भनी घूस लिएको अभियोगमा अख्तियारद्वारा पक्राउ परेका नेकपाका पूर्वसांसद डिवी कार्की पनि अदालतको फैसलासँगै डिल्लीबजार कारागारको ‘क’ ब्लकमै छन् । सुडान घोटाला भ्रष्टाचार काण्डमा सर्वोच्चद्वारा दोषी ठहरिएका नेपाल प्रहरीका पूर्वआइजिपी रमेशचन्द ठकुरी, श्रीमती हत्याको अभियोगमा अदालतद्वारा जन्मकैद सजाय सुनाइएका सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइराला पनि कारागारको ‘क’ ब्लकमा नै रहेका छन् । गृहमन्त्री थापाका भाइ नरेश पनि अहिले सोही ब्लकमा बस्दछन् ।

दुई वर्षअघि राजधानीमा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याकाण्डका मुख्य अभियुक्त समीरमान सिंह बस्नेतसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापा पक्राउ परेका थिए । गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले भारतबाट पक्रेर ल्याउन सफल भएको थियो । समीरसँग नरेशको सम्पर्क देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना पाएपछि सीआइबीले गतसाउन अन्तिम साता उनका सहयोगीहरू पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि