असोज ०६, २०८१, आइतबार
               

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

रासस
फागुन २५, २०७६

ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आइतबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

‘मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए’, प्रहरी निरीक्षक भट्टले बताए, ‘तीमध्ये एकको मृत्यु भएको खबर आएको छ ।’

प्रहरीका अनुसार पुनर्वास बिचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार गम्भीर घाइते भएका छन् भने पुनर्वास–७ का अर्जुन राना र कैलालीको गोदावरी नगरपालिकाका अनिल लामिछाने सामान्य घाइते भएका छन् । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । 

यसैबीच शनिबार टिपरको ठक्करबाट बालकको मृत्यु भएको विषयलाई लिएर आइतबार कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालय स्थानीयले घेराउ गरेका छन् ।

म १ ख ८४९ नम्बरको टिपरले ठक्करबाट बेलौरी नगरपालिका–४ का नौ वर्षीया बालक आकाश रानाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आक्रोशित स्थानीयले टिपर चालकलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै नगरपालिका घेराउ गरेका हुन् ।

स्थानीयले बेलौरी बजारसमेत बन्द गरी यातायातका साधन सञ्चालनमा समेत अवरोध गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । बेलौरी क्षेत्रको प्रहरीले सुरक्षा व्यवस्थासमेत कडा पारेको छ । आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि