असोज ०६, २०८१, आइतबार
               

नागढुङ्गा–कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने

रासस
फागुन २५, २०७६

ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

नगर प्रमुख घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिए । ‘आकाशे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वास नगरपालिकाले लिएको छ’, उनले बताए ।

यसैगरी नगरपालिकाले काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेशद्वारसमेत निर्माण गर्ने भएको छ । उक्त प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख गिरीले जानकारी दिए । नगरपालिकाले चन्द्रागिरीका जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुङ्गा–कलङ्की सडकखण्डमा सिसीटिभीसमेत जडान गर्न लागेको छ । सिसीटिभी जडानसँगै उक्त सडकमा हुने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज पुग्नेछ । 

नगरपालिकाले सिसीटिभी जडानका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ । उक्त नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर वडा ८ मा १५ शय्याको नगरस्तरीय अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ । भर्खरै सञ्चालनमा आएको अस्पतालमा वर्थिङ सेन्टरसमेत स्थापना गरिएको छ । 

चन्द्रागिरीका गाउँगाउँका बिरामीलाई अस्पतालसम्म ल्याउनका लागि नगरपालिकाले एम्बुलेन्ससमेत खरिद गर्न लागेको नगरप्रमुख गिरीले बताए । यो नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि