असोज ०६, २०८१, आइतबार
               

बहुचर्चित भीमफेदी–कुलेखानी सुरुङमार्ग अध्ययन अन्तिम चरणमा
सुरुङमार्ग निर्माणपछि हेटौँडा–काठमाडौँको यात्रा जम्मा एक घन्टाकाे हुने

रासस
फागुन २३, २०७६

ADVERTISEMENT

बागमती प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको अध्ययन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

सुरुङ निर्माणका लागि गर्नुपर्ने विभिन्न पाँचवटा सर्वे लगभग सकिएको इन्जिनियरिङ भूगर्भशास्त्री ईश्वर दाहालले जानकारी दिए । 
भूगर्भीय हिसाबमा सुरुङ निर्माणका लागि उक्त क्षेत्र अत्यन्त उपयुक्त रहेको पाइएको उनको भनाइ छ । 

अध्ययनका क्रममा विभिन्न स्थानबाट जमिनको ५० मिटरभित्रसम्म छेडेर त्यहाँको माटो तथा ढुंगा निकालेर त्यसको अध्ययन गरिएको भूगर्भशास्त्री दाहालले बताए । मार्गको निर्माणमा आफूहरु हरतरहले लागेको र तोकिएको समय सीमाभित्र नै बोलपत्र आह्वान गरिने यातायात पूर्वाधार महाशाखा प्रमुख सहदेव भण्डारी बताउँछन् । 

उनका अनुसार हाल सुरुङमार्गको सर्वे र डिजाइनका लागि ४५ जना प्राविधिकले अहोरात्र काम गरिरहेका छन् । हाल डिजाइनमा १०, माटो परीक्षणमा २०, टोपोग्राफी, जियोफिजिकल र ड्रोन सर्वेका लागि पाँच–पाँच गरी कूल ४५ जना प्राविधिक निर्माणस्थलमा खटिएको उनले बताए ।  अध्ययनमा खटिएका कतिपय प्राविधिकले टेन्ट गाडेर सोही स्थानमा बास बसेर भए पनि छिटोछिटो काम गरिरहेको उनको भनाइ छ । 

मार्गको टोपोग्राफी सर्वे, ड्रोन सर्वे, भूगर्भीय नक्सांकनलगायत सर्वेका चरणहरु गरिएको र केही दिनमा प्रतिवेदन आउने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । वैशाखको पहिलो हप्तासम्म विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर वैशाख महिनाभित्र बोलपत्र आह्वान गरिसक्ने मन्त्रालयले जनाएको छ । 

बागमती प्रदेशको राजधानी हेटौँडा र देशकै राजधानी काठमाडौँलाई सहज ढंगले जोड्ने तथा देशको आर्थिक विकासमा मेरुदण्डको काम गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको बताउँछन्, प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल । पौडेलका अनुसार प्रस्तावित सुरुङमार्गको निर्माणपछि नेपालले दीर्घकालीन विकासको लय समात्न सक्छ । अर्थिक विकाससँगै थुप्रै रणनीतिक महत्वका साथै काठमाडौँ केन्द्रित जनसङ्ख्यालाई विकेन्द्रीकृत गर्नसमेत सफल हुने विश्वाससहित प्रदेश सरकारले सुरुङमार्गको योजना अगाडि बढाएको उनको भनाइ छ । 

प्राविधिक तयारी सकिएको र हाल भीमफेदीदेखि सिस्नेरीसम्म साढे तीन किलोमिटर सुरुङ खनिने तथा हेटौँडा–भीमफेदी सडक र सिस्नेरी–काठमाडौँलाई फराकिलो बनाइने योजना रहेको मुख्यमन्त्री पौडेलले बताए । 

सुरुङमार्ग निर्माणपछि हेटौँडा–काठमाडौँको जोखिमपूर्ण र लामोे यात्रा समय घटेर एक घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौँसम्मको यात्रा अवधि घटाउने तथा आर्थिक बचतसमेत गराउने उनको विश्वास छ । 

सुरुङ राजमार्गले हेटौँडा हुँदै नेपालको सम्पूर्ण पश्चिमी, दक्षिणी र पूर्वी भागलाई जोड्ने र देशको समग्र अर्थतन्त्रलाई उल्लेख्य वृद्धि गर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ ।

भारतबाट हाल अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरुङमार्ग हुँदै काठमाडौँ पु-याउने योजना पनि सुरुङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने योजना रहेकाले यो बहुआयामिक र महत्वकांक्षी योजना बन्न पुगेको मुख्यमन्त्री पौडेल बताउँछन् । पाइपलाइनले पनि देशको ठूलो ढुवानी खर्च बचत गर्ने उनको भनाइ छ । 

सुरुङमार्गको निर्माणपछि नेपाललाई धेरै कुरामा फाइदा पुग्नेछ । उक्त मार्गको सञ्चालनपछि देशको इन्धन र स्पेयर पाट्र्समार्फत खर्च हुने वार्षिक एक अर्बभन्दा बढी रकम बचत हुने, समय, ऊर्जा र यात्राको अवधिसमेत बचत हुने तथा सडक मर्मत लागतमा कटौती हुने, राजधानी सहर काठमाडौँको जनघनत्व विस्तार भई सन्तुलन कायम हुने, काठमाडौँका उद्योगधन्दामा कम ढुवानीमा कच्चापदार्थ पु-याउन सकिने हुँदा उत्पादन लागत कम हुनेलगायत थुप्रै फाइदा हुनेछ । 
 
पूर्वाधार मन्त्री फुयाँलद्वारा अनुगमन 

यसैबीच सुरुङमार्ग निर्माणस्थलको अवलोकनका क्रममा भीमफेदी पुग्नुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज सुरुङमार्ग निर्माणस्थलको अवलोकन र अध्ययन कार्यको अनुगमन गरेका छन् । उनले मार्गको दक्षिणतर्फको प्रवेशद्वार भीमफेदीको कोलडाँडा नजिक पुगेर अध्ययन गरिरहेका प्रविधिक टोलीसँग अध्ययनका क्रममा प्राप्त उपलब्धि, प्रभावकारिता र सम्भाव्यताबारे जानकारी लिएका छन् । 

सो अवसरमा प्राविधिक टोलीका इन्जिनियरिङ भूगर्भशास्त्री ईश्वर दाहाल, यातायात पूर्वाधार महाशाखा प्रमुख सहदेव भण्डारीलगायत प्राविधिकले मन्त्री फुयाँललाई सुरुङमार्गको प्राविधिक अध्ययनका क्रममा प्राप्त नतिजालगायत बारेमा जानकारी गराएका थिए । 

प्राविधिकले हाललाई १२ मिटर चौडाइको दुईतर्फी यातायात सञ्चालनका लागि सहज हुने खालको एउटा र नजिकै पाँच मिटर चौडाइको एकतर्फी यातायात सञ्चालन गर्न मिल्ने अर्को सुरुङमार्ग निर्माण गरिने जानकारी गराएका थिए । 

प्राविधिकका अनुसार दुईवटै सुरुङमार्गलाई मध्यभागमा जोड्ने दुईवटा तेर्सो सुरुङ पनि निर्माण गरिनेछ । दुर्घटनालगायत कारणबाट अवरुद्ध भएको खण्डमा विकल्पका रुपमा प्रयोग गर्न तथा आपत्कालीन अवस्थामा प्रयोगमा ल्याउन तेर्सो सुरुङ आवश्यक पर्ने प्राविधिकको भनाइ छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि