मंसिर ०१, २०८१, शनिबार
               

कोरोनाको आडमा कालोबजारी : दर्जनौं पसलमाथि अनुगमन
ठूलाे संख्यामा जरिवाना र कारबाही

नेपाल फ्ल्यास
फागुन २३, २०७६

फाइल फाेटाे
ADVERTISEMENT

कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

विभागले हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसीको अनुगमन गर्ने गरेको छ । 

कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधिजन्य सामग्रीको कृत्रिम अभाव भएको उपभोक्ताको उजुरीपछि बजार अनुगमनलाई तीव्रता दिइएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार हालसम्म चार वटा सर्जिकल पसललाई ठूलो मात्रामा जरिवाना तोकिएको छ। 

अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबार गरेको भेटिएपछि उनीहरुलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८अनुसार कारबाही गरिएको छ । 

बिहीबार बजार अनुगमनका क्रममा बढी मूल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री गरेको भेटिएपछि वीर अस्पतालमा रहेको आयुष फार्मेसी र क्षेत्रपाटीमा रहेको आइज्याक फार्मेसीलाई दुई÷दुई लाख रुपैयाँसम्म जरिवाना गरिएको छ । 

त्यस्तै मंगलबार र बुधबारको बजार अनुगमनका क्रममा कमलपोखरीस्थित सिने स्टारको बिग मुभिजलाई दुई लाख ५० हजार र क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख जरिवाना गरिएको छ । 

काठमाडौँको त्रिपुरेश्वर, क्षेत्रपाटी, कमलपोखरी, मण्डिखाटारलगायत क्षेत्रको बजार अनुगमनका क्रममा खरिद बिल नभेटिएको भन्दै अधिकांश फार्मेसी पसललाई पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । 

विभागले बजार अनुगमनका क्रममा खरिद बिल देखाउन नसकेको भन्दै विभिन्न सर्जिकल तथा फार्मेसी पसललाई जरिवाना तोकेको छ । त्रिपुरेश्वरको गौतम इन्टरनेसनल र दृष्टि सर्जिकल हाउसलाई १०÷१० हजार, भिजन मार्ट प्रालिलाई ५० हजार र मेडिहेल्थ सर्जिकल र स्वस्तिक सर्जिकल सप्लायर्सलाई २०÷२० हजार जरिवाना गराइएको छ । 

त्यस्तै क्षेत्रपाटीको सचिन ट्रेड कन्सर्नलाई १० हजार, मण्डिखाटारको खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल सप्लायर्स र फिस्टेल सर्जिकल हाउसलाई पाँच÷पाँच हजार जरिवाना तोकिएको छ । 

बिहीबार क्षेत्रपाटीमा रहेको एसजे मेडिको सर्जिकलाई २० हजार र महाबौद्धमा रहेको आरएफ फार्मेसीलाई १० हजार जरिवाना गरिएको छ । दुवै पसलमा अनुगमनका क्रममा खरिद बिल नभेटिएपछि कारवाही गरिएको हो । ‘उपभोक्ताको उजुरी तथा विभिन्न मिडियामा मास्कमा कालोबजारीलगायत समाचार प्रकाशन तथा प्रसारण भएपछि बजार अनुगमनलाई तीव्रता दिइएको हो’, महानिर्देशक सुवेदीले भने, ‘मास्क लुकाउने र बढी मूल्यमा बेचेको पाइए कारवाही र जरिवाना दुवै गर्छौं ।’ 

सप्लायर्सले मास्क, स्यानेटाइजरलगायत सामग्रीको भण्डार गरी लुकाएर राख्ने र बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले जनाएको छ । कारबाही गरेका सबै सप्लायर्सलाई विभागले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरेको महानिर्देशक सुवेदीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि