बैशाख २०, २०८१, बिहीबार
               

व्यक्तिगत घटना दर्तामा नेतृत्व लिँदै महिला

रासस
फागुन २३, २०७६

ADVERTISEMENT

डाेटी । पछिल्लो समय यहाँका  महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् ।  श्रीमानबाट विभिन्न पीडा पाउन थालेपछि उनीहरु त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका हुन् ।

जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइसराइँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भन्ने गरिन्छ ।

दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले विवाह दर्तामा महिलाको अग्रसरता बढेको जानकारी दिए ।

जिल्लास्थित अल्पकालीन सेवा सङ्घका प्रमुख देवकी बोहराले भिनन् , “आफ्नो पहिचान र अधिकारका लागि महिला नागरिकता लिन थालेका छन् । व्यक्तिगत घटना दर्ता गर्नेको सङ्ख्या बढदो छ  ।  यो आफैँमा राम्रो पक्ष पनि हो ।” 

विवाह दर्ता गराउनेको सङ्ख्या बढेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय शारदा नेपालीले बताइन् । उनले भनिन् , “श्रीमान्सँगको सम्बन्ध र सम्पत्तिको अधिकारका लागि भए पनि महिलाले विवाह भएलगत्तै विवाह दर्ता र नागरिकता बनाउनु जरुरी भएको छ ।”

यहाँको दिपायल सिलगढी नगरपालिकामा गत आर्थिक वर्षमा विवाह दर्ता गर्नेको सङ्ख्या २५० थियो । चालू आवको माघ मसान्तसम्ममा एक हजार २०० भन्दा बढी पुगेको जनाइएको छ । 

पञ्जिकरण शाखा प्रमुख बुद्धिसिंह खड्काका अनुसार विवाह दर्ता गर्न आउनेको सङ्ख्या बढिरहेको छ । विवाह दर्ता गर्न नागरिकता अनिवार्य चाहिने भएकाले पनि नागरिकताको सिफारिस लिन आउनेको चाप बढेको उनले बताए । 

नगरक्षेत्रमा आफ्नो अधिकारका लागि महिलाहरु पछिल्लो समय निकै सचेत बन्दै गएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले बताए ।

उनले भने, “विगतका वर्षभन्दा अहिले यहाँका महिलाहरु निकै सचेत तथा आफ्ना कामका लागि अग्रसर हुने गरेको हामीले पाएका छौँ ।”

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि