असोज ०६, २०८१, आइतबार
               

बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

रासस
फागुन २२, २०७६

ADVERTISEMENT

सुुक्खा पहिराको कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने धैकु खोलानजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पहिरो खसेको ठाउँमा सडक मर्मत गरेर खुलाइएको जानकारी दिए । सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर र मजदूर परिचालन गरेर पहिरो पन्छाइएको हो । उपकरण परिचालन गर्नुअघि अप्ठ्यारो र जोखिम भएकाले सुरक्षा निकायको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाइएको छ । 

सुक्खा पहिराले सडक भासिएपछि एक्साभेटरसहित कालीगण्डकी नदीमा खसेर चालक सिन्धुपाल्चोकका अर्जुन दाहालको मृत्यु भएको थियो । सडक खुलेपछि बेनीदेखि जोमसोम र जोमसोमदेखि बेनीतर्फ हिँडेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

पहिराले १५ मिटर सडक भासिएको थियो । सडक अवरुद्ध हुँदा यात्रुले गन्तव्यमा पुग्न सवारीसाधन परिवर्तन गर्न बाध्य भएका थिए । पहिरो पार गर्न जङ्गलको उकालोमा ४५ मिनेट घुमाउरो पैदलयात्रा गर्नुपर्ने समस्या थियो । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि