असोज ०६, २०८१, आइतबार
               

भरतपुर विमानस्थलमा 'हेल्थ डेस्क'

रासस
फागुन २२, २०७६

ADVERTISEMENT

चितवन । नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो ।

गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो ।

हेल्थ डेस्क पुनः आजदेखि सञ्चालनमा ल्याइएको हो ।  नागरिक उड्डयन प्राधिकरण भरतपुरले बुधबार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो ।

प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा स्वास्थ्य कक्ष स्थापना गरिएको हो ।

महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार दुईजना प्यारामेडिक्स र एकजना नर्सिङ स्टाफ कक्षमा रहेका छन् ।

उनीहरुले जहाजबाट झरेका यात्रुहरुको अवस्था बुझेर शङकास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन् । 

विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ । ती बिरामीका कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको आइसोलेशन कक्षमा पठाइने व्यवस्था मिलाइएको छ ।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रुहरु धेरै आउने हुँदा जोखिम हुन सक्ने भन्दै बेलैमा सजग भएर स्वास्थ्य कक्ष पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए ।

बीचको समयमा त्रास कम भएसँगै रोकिएकामा पुन सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । 

यस्तै कार्यालयले आज सूचना जारी गरी हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउनेहरुलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ ।

सूचनामा कोरोनाको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुहरुलाई हवाई यात्रा तथा विमानस्थल क्षेत्र प्रवेश नगर्न अनुरोधसमेत गरेको छ । भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् ।

ती जहाजबाट दैनिक आठ सय हाराहारी यात्रु आवतजावत गर्दछन् । 

दुई महोत्सव स्थगित 

कोरोना रोगको सङ्क्रमण हुन सक्ने भन्दै जिल्लामा सञ्चालन भइरहेको एउटा र हुन लागेको अर्को एउटा महोत्सव स्थगित गरिएको छ । स्थानीय प्रशासनको पहलमा सञ्चालन भइरहेको भरतपुर महोत्सव आजदेखि स्थगित भएको छ । 

यही फागुन १६ गतेदेखि सञ्चालनमा आएको महोत्सव ६ दिनमा नै बन्द गरिएको हो । महोत्सव फागुन २७ गतेसम्म सञ्चालन गर्ने भनिएको थियो ।

त्यसैगर राप्ती नगरपालिकाको परेवाकोटमा बुधबारदेखि शुरु गर्न लागेको महोत्सव पनि रोकिएको छ । पश्चिम चितवनमा भइरहेको मेघौली महोत्सव पनि स्थगित गर्नका लागि स्थानीय प्रशासनले ताकेता गरेको छ । 

मेला महोत्सव नगर्न महानगरको अनुरोध

भरतपुर महानगरपालिकाले स–साना पारिवारिक जमघट, भेटघाट बाहेकका जात्रा, पर्व, मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले हस्ताक्षर गरी जारी गरिएको सूचनामा त्यस्ता कार्यक्रममा सहभागी नहुनसमेत जानकारी दिइएको छ । यस सूचना विपरीत यस्ता कार्यक्रम सञ्चालन गरेमा नियमानुसार कारवाही हुने जनाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि