बैशाख २८, २०८१, शुक्रबार
               

कथाकार शाहलाई भ्रष्टाचारको बात !

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

काठमाडौँ । ‘छापामारको छोरो’ कथा सङ्ग्रहका लागि साहित्यकार महेश विक्रम शाहले मदन पुरस्कार पाए । नेपाल प्रहरीका कार्यरत रहेका शाहलाई २०६३ सालमा मदन पुरस्कार दिइएको थियो । उनी त्यति बेला डिएसपीमा कार्यरत थिए । मदन पुरस्कार पाएपछि प्रहरीभित्रै चर्चाको शिखरमा रहेका शाहलाई जागिरे दिनको अन्तिमतिर भ्रष्टाचारको आरोप लाग्यो । 

उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र ‘भुइँखाट’ कथा सङ्ग्रहहरू प्रकाशित छन् । उनको कथा सङ्ग्रह ‘छापामारको छोरो’को लागि २०६३ को मदन पुरस्कार पाएपछि उनी चर्चाको शिखरमा पुगे । जसले गर्दा उनलाई प्राज्ञिक व्यक्तिको रूपमा परिचित मात्रै भएन देशविदेशमा उनले लेखेका पुस्तकको माग पनि बढ्यो । यो सँगैसँगै प्रहरीभित्र केही विवादित काम नगरी उनी बसेका थिए । उनलाई प्रहरीभित्रै खासै विवादित प्रहरीका रूपमा लिइँदैन । 

तर उनी गत वर्ष कर्णाली प्रदेशको प्रमुख हुँदा उनले कर्णाली प्रदेशमा रहेका कारागारमा पुस्तकालय अभियान सुरु गरे । सो अभियानको धेरैबाट समर्थन भयो । तर प्रहरीभित्र भने त्यसको व्यापक आलोचना भएको थियो । हरेक जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपीलाई डिआइजी शाहले पुस्तक आफैँ छानेर उनले नै तोकेको प्रकाशकलाई पैसा तिर्न लगाएपछि पारदर्शी नभएको र  शाहको स्वार्थ बाझिएको भन्दै आलोचना भएको थियो । प्रहरी प्रधान कार्यालयमा सो अभियानअन्तर्गत खर्च बढी भएको र जिल्ला प्रहरी कार्यालयले पैसा तिर्न नसक्ने भन्ने उजुरी परेका कारण उनलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरेको थियो । उनको अवकाश पनि पौष २३ गते त्यहीबाट भएको थियो । उनी सुरक्षा परिषद्मा कार्यरत रहेकै बेला प्रहरी प्रधान कार्यालयमा दुधौलीमा रहँदा भ्रष्टाचार गरेको उजुरी परेको थियो । त्यही उजुरी अन्तर्गत अख्तियारले छानबिन गर्दा उनी फन्दामा परेका हुन् । 

२०७२ साल असोज २२ देखि २०७३ माघ २३ सम्म तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र (हाल तीन नम्बर प्रदेश प्रहरी तालिम केन्द्र) दुधौली सिन्धुलीको समादेशक (कमाण्डेण्ट) रहेका बेला उनलाई भ्रष्टाचार आरोप लागेको हो । तीसबर्षे सेवाहदका कारण पुस २३ देखि अनिवार्य अवकाश पाएका डिआइजी शाहले आफ्नो जीवनकालमा भ्रष्टाचारको मुद्दा खेप्नुपर्छ भन्ने कहिल्यै सोचेका थिएनन् होला । 

प्रहरी जवानहरूको दुई महिनाको तलबभत्ता घोटालामा उनी मुछिएका छन् । तालिम केन्द्रका तत्कालीन समादेशक शाह, लेखापाल प्रहरी नायव निरीक्षक दीपेन्द्रप्रसाद पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भई सकेका प्रहरी जवानहरूको ०७२ साल माघ र फागुन महिनाको तलबभत्ता खर्च लेखी नगद निकालेको आरोप उनीमाथि छ । 

अख्तियारले गरेको अनुसन्धान अनुसार मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आ.ब. २०७२/०७३ मा कार्यालय प्रमुखको रूपमा कार्यरत शाह, लेखापाल प्रहरी नायव निरीक्षक पनेरु तथा लेखा सहायक प्रहरी हवलदार केशव सिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलबभत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरूको माघ र फागुन महिनाको तलबभत्ता ३१ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरूको नयाँ नियुक्ति भएकोमा ०७२ साल माघ १ गतेबाट नै तलबभत्ता निकाली १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरूको २ दिनको बढी १ लाख ४९ हजार ६ सय १६ गरी ३३ लाख ३८ हजार तलवभत्ता तलवी भरपाईमा किर्ते दस्तखत गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

‘बदनियतसाथ हिनामिना गरी बाँडिचुँडी खाई नेपाल सरकारको सम्पत्ति हानी नोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निज आरोपितहरू महेश विक्रम शाह, दीपेन्द्रप्रसाद पनेरु तथा केशव सिंह ऐरीको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको प्रमाणित भएकोले निजहरूले हिनामिना हानी नोक्सानी गरेको बिगो तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन एवं हिनामिना हानी नोक्सानी भएको बिगो रकम निजहरूबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन माग दाबी लिइएको छ’ अख्तियारले विशेष अदालत काठमाडौँमा दायर गरेको मुद्दामा सो कुरा उल्लेख गरिएको छ । 

साथै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव बिशंखेलाई पनि अख्तियारले बद्नियतपूर्वक लेखा परीक्षक गरेको भन्दै मुद्दा दायर गरेको छ ।

डिआइजी शाह दुधौली तालिम केन्द्रको प्रमुख हुँदा लेखापालसँग मिलेर अनधिकृत रूपले तालिममा आएका रिक्रुट प्रहरी जवानको तलबभत्ता र राशन बापतको रकम अनियमितता गरेको भन्दै केही समयअघि प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी परेको थियो । 

उजुरी आएपछि महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी नायव महानरिक्षक मनोज न्यौपानेलाई अनुसन्धान गर्ने जिम्मा दिएका थिए । अनुसन्धानको जिम्मेवारी सचिवालयअन्तर्गतको प्रहरी निरिक्षणालयले दुधौली तालिम केन्द्र र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट कागजात झिकाएर छानबिन गरेको थियो । हालको भरतपुर शिक्षालयमा तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र थियो । त्यसबेला भरतपुर तालिम केन्द्रलाई जुनियर प्रहरी अधिकृत शिक्षालय कायम गरी सिन्धुलीको दुधौलीमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र सारिएको थियो । जुन तालिम केन्द्र सर्ने बित्तिकै तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शाहले पहिलो समादेशकको जिम्मेवारी पाएका हुन् ।

प्रहरी प्रधान कार्यालयले अनुसन्धान सकेर अख्तियारलाई थप अनुसन्धान गर्न सबै कागजपत्र पठाइदिएको थियो । सोही आधारमा पनेरुलाई यसअघि नै पक्राउ अनुसन्धान सुरु गरेको थियो । आफू भ्रष्टाचारमा मुछिएको थाह पाएपछि पनेरुले जागिरबाट राजीनामा दिएको भए पनि उनको राजीनामा अनुसन्धान अवधिभर रोकिएको थियो । हाल उनको राजीनामा स्वीकृत गरी पक्राउ गरिएको हो । 

यो पनि