बैशाख २२, २०८१, शनिबार
               

कर्मचारी र ठेकेदारकाे मिलेमतोमा सवा २ करोड भ्रष्टाचार

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्लेसहित ६ जनाविरुद्ध सवा २ कराेड बराबरकाे भ्रष्टाचार अभियोग पत्र दायर गरेकाे छ । ६ जनाले २ करोड २७ लाख ३ हजार आर्थिक अनियमितता गरेकाे अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएकाे हाे । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासी र सुनौला खिम्ती-अजम्वर-शिवराम जेभी चरिकोट, दोलखाबीच जलुके/विजयनगर खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्यको ठेक्का सम्झौता तथा मोविलाइजेशन पेश्की लिने प्रयोजनमा कमर्चारीहरू र ठेकेदारकाे मिलेमतोमा भ्रष्टचार भएकाे अख्तियारले ठहर गरेकाे उल्लेख छ ।

साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखा अधिकृत ध्रुवराज गौतमले ठेकेदारहरूसँग मिलेर सरकारी सम्पत्तिको हिनामिना गरेको पुष्टि भएकाे दाबीसहित काफ्ले र गौतमविरुद्ध २ करोड २७ लाख ३ हजार बराबरकाे विगो माग गरिएकाे छ । 

त्यस्तै राष्ट्रिय वाणिज्य बैंक धुलिखेलका तत्कालीन बैंक प्रबन्धक राजुप्रसाद ढकालले नक्कली बैंक ग्यारेण्टी बनाइदिएकाे हुँदा उनीविरुद्ध पनि २ करोड २७ लाख ३ हजार रुपैयाँ भ्रष्टाचारको दाबी गरिएकाे छ ।  

सुनौला खिम्ती-अजम्वर-शिवराम जेभी पार्टनरहरू शिवराम कन्ट्रक्सनका अध्यक्ष शिवजी सापकोटा, अजम्वर निर्माण सेवाका प्रोपाइटर बैकुण्ठप्रसाद भण्डारी र सुनौला खिम्ती कन्सट्रक्सनका प्रबन्ध निर्देशक धर्मराज भण्डारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीहरूले झुठ्ठा नक्कली बैंक जमानतहरू पेश गरी आयोजनाको निर्माण कार्यमा संलग्न भई भुक्तानी र ठेक्काको अन्तिम भुक्तानीसमेत लिएको स-प्रमाण पुष्टि भएको हुँदा उनीहरुलाई पनि भ्रष्टाचार गरेकाे अभियोगमा अख्तियारले विशेष अदालत काठमाडौंमा  मुद्दा दायर गरेकाे अख्तियारका प्रवक्ता प्रदीपकुमार काेइरालाले जानकारी  दिएका छन‍् ।


कस्तो लाग्यो ?

यो पनि