त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यात्रुका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ सेवा बन्द गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै अन्तरर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको जनाएको हो ।
विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरिएको छ ।
चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।