बैशाख २५, २०८१, मंगलबार
               

भारतमा प्रशिक्षण लिँदै नेपालका न्याय अधिकारीहरू

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेपालको न्याय सेवामा रहेका ३० जना अधिकृत भारतको जोधपुर राजस्थानस्थित नेशनल ल युनिभर्सिटिमा तालिम लिन थालेका छन् ।

सर्वोच्च अदालत मातहत रहेका न्याय सेवाका अधिकृतहरूले  मुद्दा मामिला तथा अदालत व्यवस्थापनबारे प्रशिक्षण लिन थालेका हुन् ।

प्रशिक्षण फागुन १९ देखि ७ दिनसम्म हुने छ । अर्को ब्याचका ३० जनाले चैत १० देखि १६ गतेसम्म सोही विषयमा प्रशिक्षण लिनेछन् । 
प्रशिक्षणको कोर्स नेपाल सरकारको अनुरोधमा तयार पारिएको जनाइएको छ ।

कोर्समा न्यायलयको प्रशासनमा सूचना र सञ्चार प्रविधिको प्रयोग तथा मुद्दा तथा अदालत व्यवस्थापन सम्बन्धी मामिलालाई प्रभावकारी ढङ्गबाट समाधानबारे केन्द्रित रहेको छ ।

भारत सरकारको पूर्ण सहयोगमा सञ्चालित कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको जनाइएको छ ।

कानुन सम्बन्धी सिकाइ, बुझाइ, अनुसन्धान तथा ज्ञानको विस्तारमा परिचित सो प्रतिष्ठित विश्वविद्यालयमा नेपाली अधिकारीले प्रशिक्षण लिइरहेका छन् । 

विश्वविद्यालयले कानुनी अनुसन्धान एवं कर्पोरेट कार्य संस्कृतिमा रहेका जटिलतालाई बुझी शैक्षिक÷कर्पोरेट विषयमा वैकल्पिक अध्ययनको विकास गर्ने कार्य गर्दै आएको छ । 

नेपालमा क्षमता विकासका लागि भारतको निरन्तर प्रतिबद्घता अनुरूप भारतीय राजदूतावासले चालू आर्थिक वर्षमा दुई सयभन्दा बढी नेपाली अधिकारीलाई यस्तो प्रशिक्षणको व्यवस्था गरेको छ ।

भारतको रुड्कीस्थित भारतीय प्रौद्योगिक संस्थान, गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटी, देहरादुनस्थित भारतीय सुदूर संवेदन संस्थान, नयाँ दिल्लीस्थित भारतीय जनसञ्चार संस्थान, बेङ्गलुरुस्थित भारतीय विज्ञान संस्थानलगायतमा यस्तो प्रशिक्षण हुने गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि