बैशाख २३, २०८१, आइतबार
               

धानको नक्कली बीउबाट पीडित किसानलाई सरकारले २० प्रतिशत राहत दिने

रासस
फागुन १७, २०७६

ADVERTISEMENT

धानको नक्कली बीउका कारण पीडित भएका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । 

गरिमा जातको  नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि  चितवनसहित १३ जिल्लाका किसानले  यस वर्ष धानखेतीमा क्षति बेहाेरेका थिए ।  

ती जिल्लाका १७ हजार ८०६ हेक्टर क्षेत्रफलमा लगाइएको धानका कारण रु १७ करोड बराबरको लागत खर्च नोक्सान भएको  कृषि तथा पशुपन्छी विकास मन्त्रालयलयले जनाएको छ । त्यसको न्यूनतम समर्थन मूल्य रु २३ करोड रहेको छ । 

पीडित किसानलाई राहत दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए । उनले अर्थमन्त्रालयमार्फत सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय हुँदै पालिकामा राहत रकम पठाइसकिएको र केही दिनभित्रै कृषकले राहत पाउने बताए ।

मन्त्रालयमा विनियोजित राहत रकमबाटै कृषकलाई रकम पठाइएको हो । सोझै पालिकामा पठाउन नमिल्ने भएकाले अर्थमन्त्रालयमार्फत पठाइएको उनले बताए ।  

यस्तै सो बीउ नेपाल भित्र्याएको दाङको लमहीस्थित सनराईज एग्रिकल्चर रिसर्च प्रालिलाई र अन्य १५ वटा विक्रेतालाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ ।

कृषकले बीउ बिक्री गरेका विक्रेतालाई स्वयं मुद्दामा जानुपर्ने विभागले जनाएको छ । धानको डिएनए परीक्षण गर्दा नक्कली पुष्टि भएपछि ठगी भएको प्रमाणित भएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम बीउ बिक्रीकर्तालाई कारवाही गर्न मन्त्रालयले फाइल विभागमा पठाएको थियो । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि