मंसिर ०७, २०८१, शुक्रबार
               

हुम्लामा टेलिफोन सेवा अवरुद्धः सेवाग्राही मर्कामा

रासस
फागुन १७, २०७६

ADVERTISEMENT

हुम्ला । चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । टेलिफोन अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट बञ्चित भएका छन् । चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चार सेवा अवरुद्ध बनेको हो । 

माघ ८ गतेदेखि अवरुद्ध बनेको टेलिफोन सेवा मर्मत नहुँदा स्थानीय टेलिफोन सेवाबाट वञ्चित भएका हुन् । टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, दार्मा, पुमा, मासिधारालगायत गाउँका स्थानीयवासी सञ्चार सेवाबाट बञ्चित बनेको दार्माका सपना ऐडीले बताए ।  टेलिकमका प्राविधिक आएर मर्मत गर्न खोज्दा मर्मत हुन नसकेर उनीहरु फिर्ता गएको ऐडीले बताए ।  
  
गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । ‘एक महिना भयो, आफन्तजनसँग कुराकानी गर्न सकिएको छैन । कतिपय कामका लागि हिँडेर एक गाउँबाट अर्को गाउँ जानुपर्ने बाध्यता छ । यससम्बन्धी नेपाल टेलिकमलाई जानकारी गराएको भए पनि अहिलेसम्म मर्मतसम्भार गरिएको छैन्’, उनले भने । 
    
गाउँमा टेलिफोन सेवा अवरुद्ध हुँदा वल्र्डलिङ्कबाट सामाजिक सञ्जालमा जोडिने गरेको यहाँका स्थानीयवासी बताउँछन् । यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ । मोबाइलमा नेटवर्क देखाउने गरे तापनि फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने गरेको स्थानीयवासी कुसुम बुढाले बताए । उनले भने, ‘एक महिनादेखि टेलिफोनले काम गरिरहेको छैन जिल्ला बाहिर रहेका आफन्तसँग फोनमा राम्रोसँग कुराकानी हुन पाएको छैन ।’  
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि