म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण गर्न लीलबहादुर पुन र थमबहादुर पुनले तीन रोपनी जग्गा उपलब्ध गराएका छन् । कुम्रीमा भवन बनाउन पुनद्वयले उपलब्ध गराएको जग्गाको मूल्य स्थानीय बजार भाउअनुसार चार लाख रुपैयाँ अनुमान गरिएको वडाध्यक्ष राजाराम सुवेदीले बताए।
लीलबहादुरले एक रोपनी ६ आना जग्गा बिहीबार मालपोत कार्यालयबाट वडा कार्यालयको नाममा पास गरिदिएका छन् । जग्गा उपलब्ध गराउने घोषणा र समझदारी गरिसकेका थमबहादुरबाट राजीनामा पास हुने प्रक्रियामा छ ।
जग्गा व्यवस्थापन गरेर भवन निर्माणको तयारी गरिएको वडाध्यक्ष सुवेदीले बताए। हाल मराङको वडा कार्यालय कुम्रीस्थित प्रगतिशील आमा समूहको भवनबाट सञ्चालन हुँदै आएको छ । वडा कार्यालय भवन बनाउन आगामी वर्षका लागि बजेट माग गरिने वडाध्यक्ष सुवेदीले बताए ।
धौलागिरि गाउँपालिकाको अधिकांश वडा कार्यालयको आफ्नै भवन छैन । मुनास्थित तत्कालीन मुना गाविसको भवनमा गाउँपालिकाको कार्यालय राखिएको छ । पुरानो सामुदायिक भवनको एउटा कोठामा वडा कार्यालय सञ्चालन भएको छ ।
गुर्जाको वडा कार्यालय सामुदायिक भवनबाट सञ्चालन भएको छ । लुलाङको वडा कार्यालय भवन बनाउन जग्गा व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरु गरिएको अध्यक्ष थमसरा पुनले बताए । मुदीको ४ नम्बर वडा कार्यालय पशु सेवा केन्द्रका लागि बनाइएको भवनबाट सञ्चालन भएको छ ।
मल्कवाङको ५ नम्बर वडा कार्यालय भाडाको घरबाट सञ्चालन भएको छ । ताकमको ७ नम्बर वडा कार्यालय भवन तत्कालीन आरसीयुपी परियोजनाले बनाएको भवनमा राखिएको छ । स्थायी केन्द्र कायम भएको वडा नं ३ मा पर्ने घट्टेकुलोमा गाउँपालिकाको भवन बनाउन जग्गा प्राप्तिको प्रक्रियामा छ ।