सर्लाहीका किसानले लगाएको हाइब्रिड जातको मकैमा ‘-याडो फिनो मेडस्ट्रिक भाइरस’को व्यापक संक्रमण देखिएको छ ।
जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, जिरायत, रानीगञ्जलगायत स्थानका किसानले लगाएको हाइब्रिड जातको मकैमा उक्त भाइरसको व्यापक संक्रमण देखिएको हो ।
भरखरै धानचमरा आउन लागेको मकैमा पात सुक्ने, मकैको पात रातो हुने, गुभो सुक्ने तथा काटिने, पात खुइलिने र प्वाल पर्ने गरेको किसानले गुनासो गरेका छन् ।
उखुखेती लगाउँदा उखुको भुक्तानी नपाएको पीडामा परेका किसान खेती परिवर्तन गरी मकैखेतीमा लागेका भए पनि मकैमा समेत संक्रमण देखिन थालेपछि थप पीडित बनेका छन् । मकैको पातसमेत रातो हुने, सुक्ने तथा गुभो सुक्ने र काटिने समस्या देखिएको किसानले बताएका छन् ।
यस क्षेत्रमा लगाइएको अधिकांश मकैमा यो समस्या देखिएको स्थानीय किसान राजु महतोले बताए । धानचमरा लाग्ने समयमा मकैको बोट नै सुक्न थाल्नुका साथै मकैको बोटपात सुकेपछि जसरी पनि किसान मर्ने नै रहेछ भन्ने अनुभव हुन थालेको अर्का किसान ठाकुर पौड्यालले बताए ।
किराका कारण वा अन्य कारण आफूहरुलाई थाहा नभएको तर मकैमा उक्त भाइरसको व्यापक संक्रमण देखिएपछि आफूहरु पीडित भएको किसानको गुनासो छ।
मकैमा ¥याडो फिनो र मेडस्ट्रिक भाइरसको सङ्क्रमण देखिएपछि पात सुक्ने र मकैले खाना बनाउन नसक्ने भएका कारण मकै मर्ने गरेको उष्ण प्रादेशीय बागवानी केन्द्र नवलपुरका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले बताए ।
उक्त भाइरसको सङ्क्रमण देखिएपछि अन्नबालीमा ५० देखि १०० प्रतिशत उत्पादन घट्ने यादवको भनाइ छ । यो सङ्क्रमण आफैँ नभई भुसुना जस्तै लाइ किरा र लिफ होपर किराले एक स्थानबाट अर्को स्थानमा सार्ने गरेको यादवको भनाइ छ।
जिल्लामा हरेक वर्ष करिब १२ हजार हेक्टर क्षेत्रफलमा ५.३ लाख टन मकै उत्पादन हुने गरेको थियो । तर, पछिल्लो समयमा अन्नबालीमा विभिन्न किसिमका सङ्क्रमण देखिएपछि उत्पादन घट्ने क्रम जारी रहेको छ । साथै मकैमा घोगा नलागी धानचमरामा दाना लाग्ने गरेको परवानीपुरका अर्का किसान विक्रम थापाले बताए ।