पाँच दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
माडी नगरपालिकाका जनताका सरोकारका विषयलाई लिएर उनी फागुन ७ गतेबाट अनशनमा बसेका छन् ।
उनको स्वास्थ्य अवस्थाबारे आज भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो ।
तिवारीका अनुसार उहाँको पिसाबमा क्रिटिनिनको मात्रा दुई नाघेको छ । सामान्य मानिसमा शून्य हुनुपर्ने क्रिटिनिनको मात्रा बढेको हो । शरीरमा चाहिने ग्लुकोजको मात्रा घटेपछि शरीरबाटै प्रोटिन र फ्याट टुक्रिएर ग्लुकोज बन्न थालेको उनले जानकारी दिए । त्यस्तै अक्सिजनको मात्रा घटेको, मुटुको चाल बढ्दै गएको र अनियमित बनेको छ ।
उनलाई कार्डियक मनिटरमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ । तिवारीका अनुसार भरतपुर अस्पतालबाट मनिटर लगेर अनशनस्थल नजिकैको स्वास्थ्य चौकीमा जोडेर राख्ने तयारी गरिएको छ । चिकित्सक टोलीले बघौडा अस्पतालमा जान आग्रह गरेको भए पनि पौडेलले अस्वीकार गरेको उनले जानकारी दिए ।
पौडेललाई विशेषज्ञ चिकित्सकको टोलीले हेर्नुपर्ने भएकाले भरतपुर अस्पताल ल्याउन सुझाव दिएको उनको भनाइ छ । तिवारीसँगै भरतपुर अस्पतालका डा प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी र प्रयोगशालाका अनिल न्यौपानेले पौडेलको स्वास्थ्य परीक्षण गरेका थिए ।
आजै अनशनस्थलबाट स्थानीयले माग पूरा गर्न दबाब दिँदै मोटरसाइकल ¥याली गरेका थिए । ¥यालीको शुभारम्भ गर्दै नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले राज्यले पौडेलले राखेका माडीवासीसँग प्रत्यक्ष सरोकार राख्ने माग पूरा गरेर जीवनरक्षा गर्नुपर्नेमा जोड दिए ।