असोज ०६, २०८१, आइतबार
               

गलकोटमा सभागृह निर्माण

रासस
फागुन ११, २०७६

ADVERTISEMENT

धेरै स्थानमा जग्गा छनोटसमेत नभएको समस्या झेलिरहेका स्थानीय तहबीच गलकोट नगरपालिकाले आफ्नै सभाहल बनाएर प्रयोगमा ल्याएको छ । वडा नं २ को नरेठाँटीमा गत वर्षको गौरवको योजनाअन्तर्गत सभाहल बनाएको थियो । हलमा नगर परिषद्समेत गरेर औपचारिक थालनी भइसकेको हो । 

जिल्लाका १० वटा पालिकामध्ये पहिलो पटक सभाहल सम्पन्न गरेर आफ्नै नगरसभासमेत सम्पन्न गर्ने गलकोट पहिलो भएको छ । यहाँका कतिपय नगर तथा गाउँपालिकाले जग्गा व्यवस्थापनसमेत गर्न नसकेर सभाहल बनाउने योजना अलपत्र परेका छन् । गत वर्षको ६५ लाख रुपैयाँ विनियोजन गरेर नगरपालिकाले भवन बनाएको हो । दुईतले यो भवनको तल्लो तल्लामा वडा नं २ को कार्यालय सञ्चालन हुनेछ । माथिल्लो तलामा सभाहल बनाइएको हो । भवनमा दुई वटा शौचालय, काउन्टर कक्षसमेत राखिएको छ । 

झण्डै २०० जना सहभागी भएर कार्यक्रम गर्न मिल्ने गरी सभाहल निर्माण भएको वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । ‘अघिल्लो वर्ष हामीले हरेक वडामा गौरवका योजना सञ्चालन गरेका थियौँ, अहिलेसम्म पूरा भएको यो मात्र एउटा योजना हो’, भण्डारीले बताए ।  ‘विद्यालय शान्तिक्षेत्र घोषणा भए पनि कार्यक्रम भइरहन्थे, अब सहज हुनेभयो’, भण्डारीले जानकारी दिए, ‘पहिलो पटक प्रयोगमै ल्याएर देखाउने काम हामीले थाल्यौँ ।’ 

ताराखोला गाउँपालिकाले पनि भवन बनाउने काम थालेको छ । ताराखोलाले भने झण्डै ७०० जना अट्न सक्नेगरी बहुद्देश्यीय भवन बनाएको हो । आगामी असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको यो भवनका लागि भने प्रदेशको साझेदारीमा चार करोड रुपैयाँ लगानी गर्नेछ । जग्गा अभावमा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा आएको बजेट सदुपयोग हुन सकेको छैन । अन्य पालिकामा पनि जग्गा खोजी भइरहे पनि सभाहल बनाउन भने सकेका छैनन् ।

अबदेखि नगरपालिकाले आफ्ना कार्यपालिका बैठक र सभासमेत सम्भव भएसम्म यहीँ गर्ने उनले बताए । नगरपालिकाले बालमैत्री नगर बनाउने तयारी गरेको छ । त्यसका लागि सबै वडामा पूरा भएका सूचकको सङ्कलन गरेर घोषणाको मिति तय गर्ने तयारी गरिरहेको उपप्रमुख रेणुका काउचाले जानकारी दिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि