भोजपुरलाई दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोसीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ।
स्थानीयले जेट बोट सञ्चालकबाट कमिसन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा बन्द गरेको व्यवसायीले बताएका छन् ।
स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिसन माग्ने गरेको भए पनि सरकारले रोक्न कुनै कदम नचालेको व्यवसायीले गुनासो गरेका छन् ।
उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाका बीचमा रहेको सप्तकोसी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्म जेटबोट सञ्चालनमा थियो । चतराघाटबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेटबोट सञ्चालनमा ल्याएपछि सर्वसाधरणले जलयातायातबाट सेवा लिँदै आएका थिए ।
चतराघाटबाट करिब १५ किलोमिटर धनकुटाको सिम्ले १० देखि १५ मिनेटमै पुगिने र सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुग्ने गरेको स्थानीय दीपक राईले बताए। उनले भने, ‘जेटबोट सञ्चालन हुँदा हामीलाई निकै सहज थियो तर आपसी किचलोका कारण सेवा बन्द हुँदा अहिले समस्या छ, सञ्चालनका लागि तत्काल पहल गर्न आवश्यक छ ।’
जेटबोट सञ्चालनमा आएपछि भोजपुरसँगै धनकुटाको सिम्ले क्षेत्रका स्थानीय पनि दुई घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी पुग्ने गरेका थिए । भोजपुर, खोटाङ धनकुटालगायतका जिल्लाबाट दैनिक सात सय बढीले जेटबोटमार्फत यात्रा गर्ने गरेको सञ्चालकले बताउँछन् ।
जेटबोटमार्फत नै बराहक्षेत्र दर्शनका लागि मानिस आवतजावत गर्ने गरेका कारण बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।
सप्तकोसी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालीले सप्तकोसी नदीमा चार वटा जेटबोट सञ्चालन गर्दै आएका छन् ।